कोरोनाको पीरले रुसमा कन्फरेन्स कल गर्दागर्दै पाँच तल्लामाथिबाट हाम्फालिन् चिकित्सक

रुसकी एक वरिष्ठ चिकित्सकले उनको अस्पतालमा कोरोनाभाइरसका रोगीहरूलाई जबर्जस्ती राखिने भनी कन्फरेन्स कलबाट जानकारी पाएपछि भवनको पाँच तल्लामाथिबाट हाम्फालेकी छन् ।

डा येलेना नेपोमन्याश्चाया नामक ४७ वर्षीया ती चिकित्सकले अस्पतालमा चिकित्सक र नर्सहरूका लागि पर्याप्त व्यक्तिगत सुरक्षा उपकरणको अभाव रहेको भन्दै कोरोनाका रोगी भर्ना लिन आपत्ति जनाएकी थिइन् ।

पाँच तल्लामा हाम्फालेपछि निकै चोटपटक लागेर उनको सघन उपचार चलिरहेको छ । उनी मर्ने बाँच्ने विषयमा चिकित्सकहरूले कुनै टिप्पणी गर्न नमानेको टीभीके क्रास्नोयार्स्कले खबर दियो । हाम्फाल्नुअघि यी सम्मानित चिकित्सकले क्रास्नोयार्स्क राज्यका स्वास्थ्यमन्त्री बोरिस नेमिकसँग कन्फरेन्स कल गरिरहेकी थिइन् ।

भिल्सकोगो स्ट्रीटमा रहेको उनी कार्यरत अस्पतालको एक इकाइमा कोरोनाभाइरसका रोगीका लागि ८० शय्या छुट्ट्याउन मन्त्रीले उनलाई आग्रह गरेको बताइएको छ ।क्रास्नोयार्स्क रिजनल हस्पिटल फर वार भेटरन्सका चिकित्सकका लागि सुरक्षा उपकरणको अभाव रहेकाले उनी त्यसविरुद्ध रहेको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयले यो अस्पताल कोभिड–१९ का रोगीहरूलाई उपचार गर्न तयार रहेको बताएको छ ।प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।रुसका अन्य क्षेत्रमा पनि व्यक्तिगत सुरक्षा उपकरणको अभावमा चिकित्सकहरूले जागिर छोडेको खबर आइरहेका छन् ।