नेपाल निवास कोटेश्वरमा ओली र नेपाल पक्षका मुख्य नेताबीच छलफल हुँदै

सत्तारूढ नेकपाको विवादका विषयमा वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा निर्णायक छलफल हुने भएको छ।प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपाल पक्षका नेता छलफलमा जुट्न लागेका हुन्।

छलफलअघि बिहान प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच एक्लाएक्लै छलफल भएको थियो।नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक ठाउँमा उभिएपछि प्रधानमन्त्री ओली पार्टीभित्र अल्पमतमा छन्।नेकपाभित्र सरकारको समीक्षाको माग गर्दै स्थायी समिति सदस्यले बैठक बोलाउन माग गर्दै अध्यक्षद्वयलाई आग्रह गरेका छन्।

स्थायी समिति बैठकबाट आफ्नो विपक्षमा माहौल खडा हुने देखिएपछि प्रधानमन्त्री ओलीले छलफल तीव्र पारेका छन्।’अहिले नेताहरू बस्दै हुनुहुन्छ’, एक नेताले सेतोपाटीसँग भने, ‘ओली पक्षबाट कस्तो प्रस्ताव आउँछ, त्यसबाटै छलफल निर्णयमा पुग्छ।’

स्रोतका अनुसार ओली पक्षबाट प्रधानमन्त्री ओलीले अध्यक्ष छाड्ने र नेता नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव आउने सम्भावना छ। नेता नेपाल यस विषयमा सकारात्मक रहेको स्रोतले बतायो।

छलफलमा ओली पक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली सहभागी हुँदैछन्। नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी हुँदैछन्।पार्टी अध्यक्ष पद हस्तान्तरण गर्ने, मन्त्रिपरिषद् हेरफेर, केही मुख्यमन्त्रीहरू फेरबदललगायतका विषयमा समेत ठोस छलफल हुने अपेक्षा नेपाल पक्षको छ।