कोरोना भाइरसप्रति चीनको प्रतिक्रियाबारे गम्भीर छानबिन सुरु : डोनाल्ड ट्रम्प

एजेन्सी, १६ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसप्रति चीनको प्रतिक्रिया बारेमा ‘अत्यन्त गम्भीर छानबिन’ सुरु गरेको बताएका छन् ।ह्वाइट हाउसको प्रेस सम्मेलनमा उनले भने, “हामी चीनसँग खुसी छैनौं, पूरै परिस्थितिबाट खुसी छैनौं किनकि हामी यो विश्वास गर्दछौं कि यो शुरू भएको ठाउँबाट रोक्न सकिन्थ्यो ।”

ट्रम्पले कोरोना भाइरसलाई तुरुन्त रोक्न सकिन्थ्याे भन्दै चीनकाे लापरबाहीले यो विश्वभर फैलिएकाे बताए । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस महामारीको बारेमा चीनविरूद्ध लगातार शब्दवाण प्रहार गर्दै आएका छन् । उनले महामारीलाई नियन्त्रण गर्न वेलैमा चीनका लागि अमेरिकी सीमा/यात्रा बन्द गरेकाे पनि बताउँदै अाएका छन् ।

केही स्वास्थ्य विज्ञहरू विश्वास गर्छन् कि अमेरिकासँग तयारीका लागि समय थियो तर ट्रम्प प्रशासनले त्यो अवसर गुमायो । तर ट्रम्प भने अाफू जाेगिनका लागि लगातार चीन र विश्व स्वास्थ्य संगठनमाथि खनिँदै अाएका छन् ।

ट्रम्प भन्छन्, “कुनै पनि देशलाई जे भए पनि त्यसको लागि जिम्मेवार बनाउनुपर्छ, तर कसैले पनि याे स्वीकार गर्दैन । यहाँ कसैले पनि कसैलाई जिम्मेवार ठह्याइरहेका छैनौं, हामी व्यक्तिहरूको एउटा समूह देखिरहेका छौं, जसले यसलाई जन्म भएकै ठाउँमा रोक्न सक्थे ।”

अयोग्यता, अक्षमताका कारण वा यसबाहेक अन्य कारणहरूले यसका लागि बलिदान गर्नेहरूलाई अमेरिकाले कहिल्यै बिर्सन नसक्ने समेत उनले बताए । चीनतर्फ औंल्याउँदै ट्रम्पले भने, “उनीहरूले हामीलाई मात्र होइन, सम्पूर्ण संसार बचाउन सक्थे।”

यसैबीच प्रेस सम्मेलनका क्रममा ट्रम्पलाई नोभेम्बरमा हुने राष्ट्रपति पदको चुनाव स्थगित गर्ने विचार के छ भनी प्रश्न साेधिएकाे थियाे । ट्रम्पले भने, “मैले कहिल्यै चुनावको मिति परिवर्तन गर्ने सोचेको छैन । म यो किन गर्छु ? नोभेम्बर ३, यही नै राम्रो संख्या हो।” उनले चुनाव राेक्ने या सार्ने कुरा केवल प्रपाेगाण्डा मात्र रहेकाे बताए ।