मकैमा फौजी किराको प्रकोपका कारण किसान चिन्तित

ओखलढुंगा : अघिल्लो वर्ष जस्तै मकै खेतीमा फौजीकीराको संक्रमण देखिएपछि ओखलढुंगाका किसान चिन्तित बनेका छन्। जिल्लाको चम्पादेवी गाउँपालिका-३ कालिकाका किसानले लगाएको मकैबालीमा फौजी किरा देखिएको हो।

चम्पादेवीका अन्य वडाका तल्लो भेगमा छरेको मकैमा फौजीकीरा लागेको वडा नं. ३ का वडाध्यक्ष बलबहादुर तामाङले बताए। चम्पादेवीको माथिल्लो क्षेत्रमा मकै छर्न भर्खर सुरु भएपनि तल्लो भेग बेँसीमा भने मकै गोड्ने बेला भएको छ। गोड्ने बेलाको मकै कीराले खाएर नष्ट गरेको भन्दै किसानको दिनहुँ गुनासो गर्न आउने गरेको तामाङको भनाई छ।

स्थानीय किसानले भने जनप्रतिनिधीले चासो नदिएको गुनासो गरेका छन्। अहिले गाउँपालिकाले किसानका समस्या कोरोनाका कारण नसुनेको स्थानीय रमि तामाङले गुनासो गरिन्। उनले भनिन्, ‘अहिलेको जोखिमको अवस्थामा कृषिका विषयमा गाउँपालिकाले केही गरेको छैन।’

गाउँपालिकाले किसान लक्षित गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ करोडको कोष स्थापना गरेको जनाएको छ। तर, उक्त कोषले किसानलाई कसरी सम्बोधन गर्छ भन्ने स्वयं फौजी किराको प्रकोप फैलिएको वडाका वडा अध्यक्ष तामाङलाई थाहा छैन। उनले यस विषयमा गाउँपालिकामा कुरा राख्ने बताए। उनले भने, ‘अघिल्लो वर्ष खडेरीले मकै खायो, अहिले पनि फौजी कीराले सताउन थालेको छ।’ फौजी कीराले विशेष गरी वडा नं ३ को सिल्खुबेँसीमा लगाइएको मकै धमाधम नष्ट गरिरहेको छ।

यस्तै मानेभञ्याङको थाक्ले, उबूँ, चिसंखुगढीको माम्खा लगायतका क्षेत्रमा फौजी किरा देखिएको छ। किराले मकै खान थालेको चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए। उनले फौजी देखिँदा बाली सखाप पार्ने त्रास बढेपछि कृषि शाखालाई अध्ययन गर्न भनिएको बताए।

गत भदौमा पनि सुनकोसी, सिद्धिचरण, चिशंखुगढी र मानेभञ्ज्याङमा फौजी किराले वर्षे मकै सखाप पारेको थियो। अहिले पनि ति क्षेत्रमा फौजी किरा आउने त्रास किसानलाई छ। त्यस क्षेत्रमा भर्खरै मकै रोपिएको छ। फौजी देखिए नियन्त्रणका लागि तयारी अवस्थामा बस्न वडा तथा गाउँपालिकाका कर्मचारीलाई निर्देशन दिएको मानेभञ्ज्याङका प्रमुख प्रशासकीय अधिकृत तुलसी भट्टराईले बताए।