महाकाली तरेर धार्चुला पुगेका चार नेपाली पक्राउ

भारतमा पसल खोल्न अनुमति दिइयो भन्ने खबर पाएपछि महाकाली तरेर गएका चार नेपाली पक्राउ परेका छन्।सोमबार साँझ ६ बजे दार्चुला महाकाली नगरपालिका खलंगाका चार स्थानीय काम गर्न भन्दै नदी तरेर धार्चुला पुगेका हुन्। उनीहरूलाई गस्ती गरिरहेको भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको हो।

‘नदी पार गर्दै गर्दा समातेपछि हामीले उच्च अधिकारीहरूलाई जानकारी गरायौं’, सहायक उपनिरीक्षक महेन्द्र सिंह नेगीले भने,’त्यसपछि हामीले अस्पतालमा उनीहरूको स्वास्थ्य परीक्षण गर्यौं र प्रहरीको जिम्मा लगायौं।’पक्राउ पर्नेहरूमा खलंगाका शंकर सिंह, राजेश निरौला, महेश टमटा र संतोष गौतम रहेका छन्।

‘बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म पसल खुल्छ भन्ने कुरा हिजो सुनेका थियौं’, राजेश निरौलाले न्युज पिटिएच टिभीसँग भने,’हामी चार जना नै यता काम गर्न भनेर आएका थियौं, एसएसबीहरूले समाते।’

एसएसबीका अनुसार शंकर सिंहको धार्चुलामा कपडाको पसल छ भने अन्य तीन जना स्वर्णकारको पसलमा काम गर्थे।उनीहरूलाई पनि क्वारन्टाइनमै पठाउने तयारी भइरहको एसडिएम अनिल शुक्लाले बताए।