भारतमा २४ घण्टामा डेढ हजार कोरानाका नयाँ संक्रमित

भारतमा कोभिड–१९ संक्रमितको संख्या २९ हजार ४३५ पुगेको छ । २४ घण्टायता भारतमा एक हजार ५४३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।मंगलबार बिहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का संक्रमितहरूको संख्या २९ हजार ४३५ जना पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो ।

मन्त्रालयकाअनुसार भारतभर २४ घन्टामा मृत्यु हुनेको संख्या ६२ रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३४ पुगेको छ ।भारतमा देखिएका यी संक्रमितहरूमध्ये ६ हजार ८६८ भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल भारतमा २१ हजार ६३२ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत छन् ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मङ्गलबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ ।

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ८ हजार ५९० जना पुगेको छ । यसैबीच महाराष्ट्रमा ३६९ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये १ हजार २८२ भने निको भएका छन् ।

महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार गुजरातमा ३ हजार ५४८ संक्रमित छन् । संक्रमित मध्ये २९४ जना निको भएका छन् भने १६२ जनाको मृत्यु भएको छ ।

दिल्लीमा ३ हजार १०८ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये ५४ को ज्यान गएको छ । यसैबीच ८७७ जना उपचारपछि घर फर्किएका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

भारतको राजस्थान, ममध्यप्रदेश, तमिलनाडू, उत्तरप्रदेश, केरला राज्यमा उच्च संक्रमित रहेका र कैयौको ज्यान गएको छ । भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरसको संक्रमण रोक्नको लकडाउनलाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त भएपछि पुनः १९ दिनको लकडाउन घोषणा गरिएको छ।