हतियार फण्डामा फरार वडाध्यक्ष शाही कञ्चनपुर प्रहरीको नियन्त्रणमा

कञ्चनपुर, १६ वैशाख । लकडाउनका बेला हतियारको फण्डामा फरार कैलालीको गोदाबरी नगरपालिका १० का वडाध्यक्ष रवीन्द्र शाही आत्मसमर्पण शैलीमा कञ्चनपुर प्रहरीको नियन्त्रणमा आएका छन् ।

गत चैत २५ गते सशस्त्र प्रहरीले कैलाली कञ्चनपुरको सीमाना कृण्णपुर ४ गुलरियाबाट भारतीय नम्बर प्लेटको जिपमा हतियार टु-टु एसलआर एक थान, त्यसको बुलेट १४ थान, एअर गन एक थान तथा त्यसको छर्रा १९६ थान नियन्त्रणमा लिएको थियो ।

शाही सवार गाडीबाट हतियार र त्यसमा प्रयोग हुने छर्रा, गोली प्रहरीले नियन्त्रणमा लिए पनि उनी फरार भएका थिए । घटनाको २० औं दिनमा वडाध्यक्ष आफै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

लकडाउनका बेला रातिको समयमा आपराधिक उद्देश्यका साथ भारतीय गाडीमा हतियार बोकेर घुम्ने जनप्रतिनिधि शाहीविरुद्ध कञ्चनपुर प्रहरीले खोजी कार्य जारी राख्दै मुद्दा चलाएको थियो ।

प्रहरीले वडाध्यक्ष शाहीलाई पक्राउ गर्नका लागि अदालतबाट अनुमति समेत लिएको थियो ।जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले वडाध्यक्ष शाही आफै प्रहरीको सम्पर्कमा आए पनि उनलाई हिरासतमा राखेर अनुसन्धान जारी रहेको न्यूज २४ लाई जानकारी दिनुभयो ।