गहुँ छाट्ने मेसिनले कृषकको दुवै हात छिनाल्यो

सल्यान । गहुँ छाट्ने मेसिनले एक कृषकको दुवै हात छिनालिदिएकाे छ । छत्रेश्वरी गाउँपालिका -३ झिम्पे पातिहाल्नका ४० वर्षीय निम बहादुर योगीको गहुँ छाट्ने मेसिनले दुवै हात छिनालेको हो ।

काटेको गहुँ मेसिनमा राखेर छाट्ने क्रममा योगीका दुवै हात छिनालिएका हुन् । सोमबार राति सबै स्थानीयले गहुँ छाट्नका लागि मेसिन मगाएका थिए । केही दिनअघि खेतमा काटेको गहुँ वर्षातको कारण छाट्न हतार भएपछि उनीहरुले दिनभरि मेसिन कुरेर राति मात्र मेसिन आएपछि गहुँ छाँट्न खाेज्दा याेगीका दुवै हात काटिएको अध्यक्ष राज बहादुर बुढाथोकीले जानकारी दिए ।

अध्यक्ष बुढाथोकीका अनुसार राति एक बजे गहुँ छाँट्नेको लागि कृषक योगीको पालो आएको थियो । आफ्नो पालोमा उनले हतारमा गहुँका मुठा मेसिनमा राख्दा दुवै हात काटिएका हुन् । घाइते योगीलाई उपचार लागि श्रीनगरबाट नेपालगन्ज ‘रिफर’ गरिए पनि त्यहाँ उपचार हुन नसकेपछि राजधानी लिने तयारी भइरहेको छ ।