ओलीको पक्षमा लाग्दा प्रचण्डले मन्त्री छाड भने त्यसका लागि तयार छु – मन्त्री भट्ट

काठमाडाैँ । उद्योग, बाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले पार्टीभित्र अहिले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बिकल्प खोज्न नसकिने बटमलाइन सुनाउनु भएको छ । पत्रकार ऋषि धमलाको जनता जान्न चाहन्छन कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री भट्टले सत्यको पछि लाग्ने आफ्नो प्रष्ट लाइन भएको भन्दै ओलीको बिकल्प सोच्न नसकिने आफ्नो बटमलाइन सुनाउनु भएको हो ।

नेकपाभित्र राजनीतिक बैचारिक मतभेद नरहेको भन्दै भट्टले एक मिहनाभित्रै के आपत्ति आइपर्यो भन्दै ओलीको बिकल्प खोज्ने नेताहरुलाई प्रश्नसमेत गर्नुभयो । ‘स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई हटाउन सक्दैन, हटाउन हुन्न, हटायो भने दुर्भाग्यपुर्ण हुन्छ, पार्टीनै दुर्घटना हुन्छ, पार्टी एकतालाई ठुलो आघात हुन्छ,’ मन्त्री भट्टले भन्नुभयो ।

उहाँले अध्यादेश फिर्ता भइसकेपछि बहशको कुनै औचित्य नरहेकोपनि प्रष्ट पार्नुभयो । उहाँले आफू अहिलेको बहशमा सत्यको पक्षमा रहेकोले प्रधानमन्त्री ओलीकै पक्षमा उभिएको पनि प्रष्ट पार्नुभयो । ‘सरकार केपीकै नेतृत्वमा जानुपर्छ भनेको छु, म त्यो मान्यतामा प्रष्ट छु, तलमाथि छैन, यो भनेबापत अध्यक्षको हैसियतले प्रचण्डले मलाई मन्त्री छोड भन्नुहुन्छ भने पनि मलाई आपत्ति छैन, छाडिदिन्छु,’ मन्त्री भट्टले भन्नुभयो । अध्यादेश फिर्ता भइसकेपछि त्यसैमा टेकेर निहुँ खोज्ने कुरा ठीक नभएको पनि उहाँले बताउनु भयो ।