नौ सैनिक कोरोना भाइरस संक्रमित

कोलम्बो : श्रीलंकामा ९५ जना नौसेनाका अधिकारी कोरोना भाइरस संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले सोमवार पुष्टि गरेको छ। नौसेनाका अधिकारीहरूमा सुदुवेला र जा–एला क्षेत्रमा शंकास्पद कोरोना संक्रमित र लागु औषध कारोबारीको खोजीका क्रममा संक्रमण फैलिएको मन्त्रालयले जानकारी गराएको छ।

श्रीलंकामा कोविड संक्रमितको संख्या ५८१ पुगेको छ। कोविड संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ। सैनिक कमाण्डर शवेन्द्र सिल्भाका अनुसार संक्रमित सबै नौसैनिक वेलिसरा नौसैनिक शिविरका रहेका छन्। सरकार र सेनाले उक्त शिविर र वरपरका क्षेत्रलाई देशका ‘आइसोलेटेड जोन’ घोषणा गरेका छन्। संक्रमित सैनिक भएको शिविरमा प्रवेश र त्यहाँबाट बाहिर जानमा पूर्णतया प्रतिबन्ध लगाइएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार श्रीलंकामा आइतवारसम्म कोविड संक्रमित १२६ जना निको भएर घर फर्किएका छन् भने करिब ४४८ जनाले देशका विभिन्न अस्पतालमा सघन उपचार कक्ष तथा एकान्तमा रहेर सेवा लिइरहेका छन्।

रक्षासचिव कमल गुणरत्नले आइतवार श्रीलंकाका सैनिक अधिकारीहरूलाई बिदामा बसेको भए तत्काल आफू कार्यरत शिविरमार्फत जानकारी गराउन निर्देशन दिएका छन्। श्रीलंकामा गत शुक्रवारदेखि कोविड संक्रमण नियन्त्रणका लागि लगाइएको कफ्र्यू आदेश मंगलवारसम्म लगाइएको कफ्र्यू फेरि थपिएको छ।

संक्रमण कम रहेका २१ जिल्लामा कफ्र्यू आदेश मंगलवारदेखि खुकुलो बनाउँदै आर्थिक गतिविधि शुरु गरिनेछ। कफ्र्यू आदेश कोलम्बो, गम्पाह, कलुतारा र पुट्टालममा भने मे ४ गतेसम्म लागू रहने सरकारले निर्णय गरेको छ। राजधानी कोलम्बोमा अहिलेसम्म सबैभन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन्। -रासस/एएनआई