भुइँ छाड्न हुँदैन भन्दै खाली खुट्टा हिँड्न रुचाउँथे इरफान

अभिनेता इरफान खानको निधनको खबर आज १२ बजेतिर पायौं। खबर सुनेदेखि म र निशा (श्रीमती) दुवै जना उदास छौं। म इरफानलाई राम्रो कलाकार र सँगै पढेका साथीका रूपमा सम्झिइरहेको छु। भारतको राष्ट्रिय नाट्य विद्यालय ‘एनएसडी’, दिल्लीमा सन् १९८४ देखि १९८७ सम्म हामीले सँगै पढेका थियौं। उनकी श्रीमती सुतापा सिकदर पनि एउटै ब्याचमा पढ्थिन्।

इरफान अभिनयका विद्यार्थी थिए, भने म निर्देशन पढ्थेँ। तर कामचाहिँ सबै खाले गरिन्थ्यो। उनी उत्कृष्ट अभिनेता अनि म अलराउन्डरका रुपमा पुरस्कृत भएको थिएँ। सँगै पढ्ने मात्रै हैन, हामी खुब मिल्थ्यौं पनि। हामीले पढाइ क्रममै धेरै पटक सँगै काम गरियो। एक अर्कालाई सल्लाह-सुझाव पनि दिइयो।

त्यसपछिका दिनमा भेटघाट नियमित नभए पनि हाम्रो सम्पर्क कहिल्यै टुटेन। उनी बिरामी भएपछि मेरो कुराकानी नभए पनि निशा नियमित सम्पर्कमा थिइन्। इरफान र सुतापासँग निशाको पनि निकटता भएकाले हाम्रो सम्बन्ध पारिवारिक बन्यो।

सन् २०१३-१४ तिर मुम्बईमा उनकै घरमा भेट भएको थियो। त्यसपछि बिरामी हुनुअघिसम्म फोनमै कुरा हुन्थ्यो। डाक्टरले नै फोनमा नबोल्नु भनेकाले त्यसपछिका दिनमा निशाले सुतापासँग मात्र कुरा गर्थिन्। म निशा मार्फत् हालखबर थाहा पाउँथेँ।

इरफान पहिल्यैदेखि ‘मुम्बई जान्छु, फिल्म खेल्छु’ भन्नेमा स्पष्ट थिए। सोच र तयारी पनि त्यही हिसाबको थियो। उनको सफलताको एउटा कारण यो पनि होला। जुनसुकै भूमिकामा चरित्रअनुसारको तयारी गर्ने गुणले उनले निर्वाह गरेका धेरै चरित्रले दिमागमा छाप छोडेका छन्। उनको एउटा मात्रै मनपर्ने फिल्म छान्न सक्दिनँ। उनको हरेक भूमिकामा अभिनय हैन, जीवन बाँचेको देख्छु।

२००८ तिर गुरुकुलको नाटक महोत्सवमा अतिथिका रुपमा इरफान र सुतापा सँगै नेपाल आएका थिए। दुई दिन हामीसँगै सुनाकोठी ललितपुरमा बसेर एक दिन पोखरा घुम्न गएका थिए।

अर्कोपटक आउँदा छोराहरू लिएर आउने भन्थे, तर त्यो मौका नै जुरेन। यहीँ आएका बेला निशालाई निम्तो दिएपछि निशा करिब एक महिना उनकै घर मुम्बई गएर बसेकी थिइन्। म पनि धेरै पटक उनको घरमा बसेको छु।

गुरुकुलका तर्फबाट नाटक लिएर एनएसडी जाँदा उनीसँग भेट हुन्थ्यो। लामो समयका लागि भेट हुँदा चाहिँ हामी कला क्षेत्रका बारेमा गम्भीर कुराकानी पनि गर्थ्यौं। सँगै काम गर्ने योजनाहरू पनि थिए, तर त्यो कुरा खासै अगाडि बढेन।

भारतबाहेक हलिउडका फिल्मसमेत खेलेका इरफान अन्तर्राष्ट्रिय रुपमा सफल अभिनेता हुन्। तर यसले उनको व्यवहारमा धेरै फरक पारेन। म र निशाको नजरमा उनी ‘डाउन टु अर्थ’ मान्छे थिए। जुत्ता खोलेर खाली खुट्टा हिँड्दै भन्थे, ‘जमिनसँगको नाता टुट्न दिनु हुँदैन। पैतालाले भुइँको स्पर्श गरिराख्नु पर्छ।’

उनी बितेपछि भारतमा भएका केही सँगै पढ्ने साथीहरूसँग इरफानको बारेमा कुराकानी भयो। पुराना दिन झनै याद आए। हाम्रो ब्याचमा इरफान, सुतापा, युमती र म गरी चार जनाको मिल्ने समूह थियो। हाम्रो समूह ‘ग्यांग्स अफ फोर’ नामले चिनिन्थ्यो। हामी कलेज पढ्ने उमेरका विद्यार्थी भएकाले सधैं पढाइ र कामका कुरा मात्रै हुन्थेनन्।

हामीसँग पढ्ने धेरै साथीले कला र अभिनय क्षेत्रमा काम गरे। अझै कति सक्रिय छन्। धेरैले राम्रो काम गरिरहेका छन्। तर तीमध्ये इरफान अलग थिए। उनको सोच र क्षमता खास थियो। त्यो उनले प्रमाणित गरेर गएका छन्।अलबिदा इरफान!