विदेशबाट फर्कनलेलाई स्वदेशमै कामको अवसर खोजिंदै

काठमाण्डौ – कोरोनाको कारण विदेशमा रोजगारी गुमाएर फर्कनेका लागि सरकारले स्वदेशमै रोजगारीको अवसर खोजी भैरहेको बताएको छ ।राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलका अनुसार विदेशबाट रोजगारी गुमाएर फर्कनलेका लागि कहाँ, कस्ता र कति रोजगारी सिर्जना गर्न सकिन्छ भनेर विभिन्न मन्त्रालयहरुले गृहकार्य गरिरहेका छन् ।

श्रम रोजगार पत्रकार समूहले बिहीबार आयोजना गरेको कोभिड १९ पछि रोजगारीको क्षेत्रमा पर्ने दवाव र आन्तिरिक रोजगारी वृद्धिका क्षेत्रहरुका विषयमा सरोकारवालासँगको छलफलमा आयोगका सदस्य फुयाँलले यस्तो जानकारी दिनुभएको हो ।

कोरोना भाइरसका कारण अर्थतन्त्रमा ठूलो असर पर्ने र वैदेशिक रोजगारीमा रहेका झण्डै २० लाख नेपाली श्रमिकको रोजगारी गुम्ने अनुमान रहेको पनि उहाँले बताउनुभयो । यो समयमा सरकारले आन्तरिक रोजगारीलाई प्राथमिकतामा राखेर योजना बनाइरहेको उहाँको भनाइ छ ।

‘कृषिमा अपार सम्भावना छ, विदेशबाट फर्कनलाई कसरी लगाउने, यसलाई कसरी व्यवसायिक रुपमा अघि बढाउने भनेर हामीले योजना बनाइरहेका छौं,’ फुयाँलले भन्नुभयो, ‘कृषिमा पनि बिचौलियाको अन्त्य गर्दै, कृषकको उत्पादन सिधै बजारसम्म पुर्‍याउने हुन सक्छ कि अथवा कृषिमा पनि आधुनिक रुपले अघि बढाउन सकिन्छ, त्यसतर्फ काम भइरहेको छ ।’

उहाँले भन्नुभयो, ‘अहिले जुनसुकै सरकार भए पनि गर्ने भनेको नागरिकलाई बचाउने काम हो । त्यो भनेको उनीहरुको जीविकालाई पनि बचाउनुपर्ने हुन्छ । जनजीविकाको बचाउ भनेको रोजगारी र आफ्नो सीप, क्षमता आदिको प्रयोगलाई बचाउने भनेको हो । सरकार त्यसैका लागि काम गर्दैछ ।’यसअघि नै सरकारले ल्याएका कार्यक्रमलाई अझ प्रभावकारी रुपमा लैजाने पनि डा. फुयाँलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय रोजगार प्राधिकरण, यूवा स्वरोजगार कार्यक्रम लगायत यसअघि पनि थुप्रै कार्यक्रमहरु छन्, तिनलाई पनि प्रभावकारी बनाउने हो ।’

नेपालमा धेरै श्रमिक पर्यटन क्षेत्रमा कार्यरत भए पनि अहिले यो क्षेत्र ठप्प हुँदा धेरैको रोजगारी गुमेको छ । सम्भावना पनि यही क्षेत्रमा भएकाले पर्यटन क्षेत्रलाई थप प्रवद्र्धन गर्न पनि आयोगले काम गरिरहेको उहाँको भनाइ छ ।

जोखिमका बेला श्रम मन्त्रालय सुत्यो : आचार्य
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसीसी) का अध्यक्ष पुष्कर आचार्यले कोरोनाको कारण श्रमिकहरु भोकभोकै पर्दा पनि उनीहरुको हकहितका लागि काम गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायले चासो नदिएको आरोप लगाउनुभयो ।

‘श्रमिकले चैत महिनाको तलब अझै पाएका छैनन्, बाटोमा भोकभोकै हिँडिरहेका छन्, तर यो बेला उनीहरुको सुरक्षाका लागि काम गर्नुपर्ने श्रम मन्त्रालयको भूमिका निष्क्रिय भयो, सुतेर बसेको छ’ उहाँले भन्नुभयो, ‘हामी आफैंले पनि सुझाव पेश गरेका थियौं, तर खै आजसम्म के गर्‍यो थाहा छैन ।’

सबै रोजगारदाता तथा उद्योगहरुले यो बेला श्रमिकलाई तलब दिन नसके पनि त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने उहाँको भनाइ छ ।तर सरकारले यो बेला श्रमिकको हकहितका लागि सरकारले पहलकदमी चाल्नु, जिम्मेवारी लिन त परको कुरा चुप लागेर बसेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

निजी क्षेत्रले तलब नदिनेदेखि श्रमिक कटौती गर्ने गरेको भन्दै अध्यक्ष आचार्यले सरकारले स्वदेश तथा विदेशबाट फर्कने श्रमिकको सीपलाई प्रयोग गर्नुपर्ने बताउनुभयो ।

रोजगारी गुमाएर विदेशबाट फर्कने धेरै हुन्छन्
कोरोनाका कारण संसारभरी नै श्रमिकहरु बेरोजगार भइरहेको अवस्थामा वैदेशिक रोजगारीमा रहेका झण्डै १० लाख श्रमिक फर्कने भन्दै अध्यक्ष आचार्यले सरकारले उनीहरुका लागि अहिले नै योजना नबनाए अवस्था बिग्रने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विदेशबाट फर्कनेको सीप र क्षमतालाई कहाँ लगाउने भनेर अहिले नसोचे भोलि रोगभन्दा भोक ठूलो भन्ने दिन आउँछ, स्थिति बिग्रन पनि सक्नेछ, यसतर्फ हामी सचेत हुनुपर्छ ।’ रेमिट्यान्सले चलेका घरघरमा अहिले कोरोनाले प्रत्यक्ष असर परेको भन्दै उहाँले अब सरकारले कृषिमा रोजगारी दिनुपर्ने बताउनुभयो ।

उद्योग बचे श्रमिक बच्छन् : ढकाल
छलफलमा रोजगारदाता परिषदका सभापति चन्द्र ढकालले कोरोना भाइरसका कारण सबै उद्योगधन्दा नै बन्द हुँदा श्रमिक मात्र नभएर समग्र क्षेत्रलाई नै प्रभाव परेको भन्दै एउटा उद्योग बाँचे मात्र श्रमिक र अर्थतन्त्र बाँच्ने बताउनुभयो ।

कोरोनाका कारण दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक, रेमिट्यान्स प्राप्त गरेर चल्ने परिवार, उद्योग प्रतिष्ठान र पर्यटन क्षेत्रमा सबैभन्दा धेरै असर परेको सभापति ढकालले बताउनुभयो । कोरोना भाइरसले संसारको अर्थतन्त्रमा प्रभाव पारे पनि यसलाई आत्मनिर्भर बन्नका लागि अवसरका रुपमा प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।

कतारलाई छिमेकी राष्ट्रले प्रतिबन्ध लगाउँदा उसले आफूलाई आत्मनिर्भर बनाउनका लागि गरेको कामबाट पनि सिक्ने सकिने भन्दै ढकालले विदेशमा रोजगारी गुमाएर फर्कनेका लागि पनि यो स्वदेशमै आत्मनिर्भर बन्ने अवसर हुने बताउनुभयो ।

तर धेरैतिरबाट लाखौं श्रमिक फर्कने आँकलन भइरहँदा उहाँले भने अहिले कोरोनाको कारण अत्यास लागेर नेपाल फर्कने इच्छा देखाए पनि रोजगारी गुमाउने बाहेकका श्रमिक नफर्कने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘६६ प्रतिशत फर्कने एनआरएनएको तथ्याँक छ, तर मलाई चाहिँ त्यस्तो लाग्दैन, किनभने नेपाल तत्कालका लागि केही सुरक्षित भएको कारण नेपाल फर्कन पाए हुन्थ्यो भन्ने लागेको हो, तर त्यो तत्कालको आकांक्षा मात्रै हो ।’ महामारीको समस्या घट्दै जाँदा अहिले सोचेजस्तो धेरै नेपाली स्वदेश नर्फकने उहाँको तर्क छ ।

कृषिलाई प्राथमिकता दिनुपर्छ
अहिले धेरै सम्भावना कृषिमा भएकाले सरकारले अब कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने सभापति ढकालले बताउनुभयो । ‘विदेशबाट फर्किएका वा रोजगारी गुमाएकाहरुलाई कृषि पेशामा लगाउनुपर्छ र स्थानीय वा व्यक्तिगत स्तरमै रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ,.’ ढकालले भन्नुभयो, ‘तर आधुनिक हिसाबले कृषि गरिनुपर्छ ।’यस्तै, लकडाउनको अवस्था लम्बिएमा श्रमिकलाई तलब खुवाउन नसक्ने अवस्था रहेको भन्दै सरकारले बिस्तारै यसको विकल्प सोच्नुपर्ने उहाँको भनाइ छ । उज्यालो अनलाईनबाट