बालुवाटारमा मन्त्रिपरिषद बैठक, लकडाउनको स्वरूप फेर्ने तयारी

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ। बैठक नियमित छलफल तथा अन्य केही विषयहरुमा केन्द्रित रहने प्रधानमन्त्रीका केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषदको बैठकले बर्खे अधिवेशन आह्वानको गर्ने तयारी पनि गरेको छ। आजको बैठकले कोरोना भाइरसको कारण गरिएको लकडाउनको मोडालिटी केही परिवर्तन गर्नेबारे पनि निर्णय गर्ने स्रोतले जानकारी दियो।

त्यस्तै, आजको बैठकले लकडाउनको मोडालिटी बनाउन गृहकार्य गर्ने बुझिएको छ। सरकारले वैशाख २५ गतेसम्म लकडाउनको घोषणा गरेको छ। हवाइ उडान र उत्तर र दक्षिणतर्फका सीमा नाका बन्द राखेर मुलुकभित्र खुकुलो बनाउने तयारी भइरहेको स्रोतको भनाइ छ।सरकारले वैशाख ३१ गतेसम्म सीमा सिल गर्ने निर्णय गरेको छ। जेठ २ गतेसम्म हवाइ उडान बन्द राख्ने निर्णय पनि यसअघि नै गरिसकेको छ।