लकडाउनले लमजुङमा विकास निर्माण प्रभावित

लमजुङ : कोरोना भाइरस संक्रमण जोखिमसँगै जारी लकडाउनका कारण जिल्लाका सबै स्थानीय तहका विकास निर्माणका योजना प्रभावित भएका छन्।लकडाउनकै कारण जिल्लाका कतिपय योजना सम्झौता हुनै सकेका छैनन्। कतिपय भने निर्माणाधीन अवस्थामै रोकिएका हुन्।

जिल्लाको सदरमुकामसमेत रहेको बेसीसहर नगरपालिकाले भने अधिकांश योजना सम्झौता सकिएको जनाएको छ। नगरसभाबाट पारित योजना सम्झौता भइसके पनि बीचमा थपिएका विशेष केही योजना भने सम्झौता हुन बाँकी रहेका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले बताए।

उपभोक्ता समितका योजना धेरैजसो सकिएको भन्दै सम्झौता भइसकेका र टेन्डर प्रक्रियामा गएका केही ठूला योजनाको निर्माण अवधिका लागि म्याद थप गर्नुपर्ने भएको उनले बताए।

सुन्दरबजार नगरपालिकाले पनि चालु आर्थिक वर्षका योजनाहरुका लागि असार १५ सम्म म्याद थप्ने जनाएको छ। नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गौतमका अनुसार ससर्त अनुदानका कार्यक्रम सञ्चालन गर्ने, सम्झौता हुन बाँकी नयाँ योजनाको सम्झौता नगर्ने र निर्माणधीन योजनालाई आवश्यकताअनुसार निरन्तरता दिने तयारी गरेको बताए।

यसैगरी पूर्वी लमजुङको राइनास नगरपालिकाले भने योजना सम्झौता अवधिबारे निर्णय नभएको जनाएको छ। चालु आर्थिक वर्षका लागि पाँच सयभन्दा बढी योजना रहेका लकडाउन अवधि लम्बिए निर्माणका काम पनि प्रभावित हुने प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीले बताए।

उनका अनुसार पालिकामा चालु आर्थिक वर्षका मात्रै करिब १० देखि १२ वटा योजना सम्झौता हुन बाँकी छन्। र योजनाको प्रकृति र सम्भावना हेरेर मात्रै सम्झौता गरिने बताइएको छ।

यस्तै मध्यनेपाल नगर कार्यपालिकाको बैठकले चालु आर्थिक वर्षका योजनाको सम्झौता गर्ने म्याद २०७६ साल चैत्र मसान्तसम्म तोकेको थियो। उक्त म्याद समाप्त भइसकेकोले सम्झौता हुन नसकेका योजनामध्ये उपभोक्ता समिति गठन भइसकेका र अत्यावश्यक योजनाको सम्झौता म्याद २०७७ वैशाख मसान्तसम्म बढाउने निर्णय गरेको छ।

मध्यनेपालमा चालु आर्थिक वर्षमा मात्रै तीन सयभन्दा बढी योजना छन्। त्यसैगरी क्होलासोँथार गाउँपालिकाले गाउँसभाबाट पारित योजना सम्झौता हुन बाँकी नरहेको जनाएको छ।

चालु आर्थिक वर्षका योजनामध्ये उपभोक्ता समितिले काम गर्दै आएका योजना अधिकांश सम्पन्न हुने चरणमा पुगेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारुले बताए।लकडाउनका कारण स्थानियत तहहरुमा निर्माण सामग्री उपलब्ध नहुँदा साना र गर्न सकिने कामहरु पनि गर्न सकिएका छैनन्। त्यस्तै लकडाउनकै कारण कार्यलयमा कर्मचारी र प्राविधिकहरु नहुँदा पनि समस्या भइरहेको स्थानीय तहहरुले जनाएका छन्।