सीमामा लुकिछिपी आवतजावत गर्नेहरु बढेपछि सशस्त्रले ३ गुणा बढी जनशक्ति खटायो

कञ्चनपुर, २२ बैशाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल भारत सीमा सिल गरेपनि लुकिछिपी सीमापार गरेर आवतजावत गर्नेहरु बढेपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा ३ गुणा बढी जनशक्ति खटाएर कडाइ गरेको छ ।

कञ्चनपुर जिल्ला भारतको उत्तराखण्ड र उत्तर प्रदेशसँग खुल्ला सीमा भएकाले यो क्षेत्रबाट लुकीछिपी बढी आवतजावत हुन सक्ने भन्दै सशस्त्र प्रहरीले अस्थायी पोष्ट खडा गरेर सीमामा कडाइ गर्न लागेको हो ।

अहिले कञ्चनपुरको सीमा क्षेत्रमा नेपालतर्फ जनपद प्रहरी र सशस्त्र प्रहरी तथा भारततर्फ सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीले संयुक्त गस्ती गरिरहेका छन् ।नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा संयुक्त गस्तीगर्दा सीमाबाट हुने आवतजावत र तस्करी पूर्णरुपमा ठप्प भएको छ ।

आफुले सीमा क्षेत्रमा आवतजावत रोक्न र लकडाउनलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले मोबाइल पट्रोल, बाइक पट्रोल, पैदल गस्ती, सयुक्त गस्ती, स्टाटिक आदि प्रयोग गरेर सीमामा निगरानी गरिराखेको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले बताउनुभयो ।

उहाँले पहिले कञ्चनपुरका लागि निकासा भएका बीओपी पोष्टलाई केहि कारणले स्थापना गर्न नसकेको र अहिले लकडाउनको अवस्थामा ती पोष्टलाई स्थापना गर्न प्रक्रिया समेत अगाडि बढाइ रहेको जानकारी पनि दिनुभयो ।बीओपी पोष्टलाई स्थापना गर्न सके सीमा मिचिने र सीमामा हुने अपराधिक क्रियाकलापमा कमी आउन सक्ने विश्वास गरिएको छ ।