एक महिनाको खानेपानी महसुल मिनाहा

धनकुटा : साँगुरीगढी गाउँपालिका-५ स्थित डाँडाबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिले एक महिनाको खानेपानी महसुल मिनाहा गरेको छ। कोरोना भाइरस कोभिड-१९ ले निम्तिएको विपत्तिको बेला उपभोक्तालाई केही राहत होस् भन्ने उद्देश्यले चैत महिनाको न्यूनतम महसुल मिनाहा गर्ने निर्णय गरिएको समितिका सचिव पूर्ण खजुमले बताए।

समितिले हरेक महिना उपभोक्ताबाट न्यूनतम महसुल बापत ३ सय २५ रुपैयाँ उठाउँदै आइरहेको छ। त्यस्तै संस्थागत कार्यालयबाट ११ सय महसुल उठाउने गर्छ। संस्थागत कार्यालय ६ वटा रहेका छन्। चैत महिनामा उठ्ने ८७ हजार ८ सय ५० रुपैयाँ उपभोक्तालाई मिनाहा गरिएको सचिवले खजुमले बताए।
खानेपानी उपभोक्ता समिति अन्तर्गत डाँडाबजार, निगाले, तुम्खा र लाप्चेटारलगायत क्षेत्रमा गरि विद्यालय, स्वास्थ्य संस्था गरी २ सय ५० जना खानेपानी उपभोक्ता छन्।

सो खानेपानी आयोजना २०६३ सालदेखि सञ्चालनमा आएको हो। स्थानीय थोत्ने खोलाबाट ध्वजेडाँडासम्म लिप्टिङ प्रविधिमार्फत ल्याएर ट्याङ्कीमा सञ्चालन गरि उपभोक्ताको घरघरमा वितरण गरिँदै आइरहेको छ।