संक्रमितको संख्या बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा ३ दिने निषेधाज्ञा जारी

काठमाडौं, २२ बैशाख । कोरोना भाइरस संक्रमितको संख्या बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।आज बसेको जिल्ला सुरक्षा समिति र सरोकारवालाको बैठकपछि स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले निषेधाज्ञा जारी गर्नुभएको हो ।

भोलि बिहान ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म हुनेगरी लगातार तीन दिन निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञासँगै परीक्षणको दायरा बढाउने उपमहानगरको तयारी छ । नगरवासीलाई निषेधाज्ञा पालनाका लागि उपमहानगरले आग्रह समेत गरेको छ ।

यता, परीक्षणको दायरा बढाउन थप स्वास्थ्य सामग्रीसहितको टोली नेपालगञ्ज पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम फैलिन नदिन र सम्भावित संक्रमितको खोजी गर्न आवश्यक स्वास्थ्य सामग्रीसहित जनशक्ति परिचालन गरेको हो ।

पीसीआर परीक्षण किट, पीपीईलगायत आवश्यक सामग्रीसहित पठाइएको टोलीले नेपालगञ्ज पुगेर काम सुरु गरेको छ । भेरी प्रादेशिक अस्पतालका अनुसार नमूना संकलन गरिएकामध्ये ६० जनाको स्वाब परीक्षण भइसकेको छ ।

अन्यको परीक्षण हुने क्रममा छ । एकैदिन १५ जना संक्रमित फेला परेपछि स्थानीय प्रशासनले संक्रमित र आसपासका सबै क्षेत्र पूर्ण रूपमा ‘सिल’ गरिएको छ ।