सीमामा बिओपी संख्या पाँच सय पुर्‍याउने गृह मन्त्रालयकाे तयारी

काठमाडौं- गृह मन्त्रालयले सीमानाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बिओपीको संख्या पाँच सय पुर्‍याउने तयारी गरेको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दिएकाे निर्देशनअनुरुप सशस्त्र प्रहरी बलले साेसम्बन्धी खाका तयार पारी सोमबार गृहमन्त्रालयमा गृहमन्त्री र मन्त्रालयका अधिकारी समक्ष प्रस्तुत गरेकाे हाे।

हाल सीमामा १२१ बिओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय पुर्‍याउने सरकारको तयारी रहेकाे छ। नेपालतर्फको सीमा नाकामा भारतकाे ५३० बिओपी रहेकोमा नेपालले पनि साेही अनुपातमा बिओपी थप्ने तयारी गरेकाे हाे। प्रस्तावअनुसार साे संख्यामा जनशक्ति खटाउन ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्रले राखेको छ।

हाल सरदर १५ किलोमिटरकाे दूरीमा रहेकाे बिओेपी त्यसपछि ३.५ किलोमिटर सीमामा रहनेछ। बिओपी थप सम्बन्धि गृहमन्त्रालयकाे छलफलमा गृहमन्त्री थापाले सीमा व्यवस्थापनकाे विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेकाे बताउँदै बिओेपी थपसम्बन्धि प्रस्ताव आफूले मन्त्रीपरिषदमा लैजाने बताए।

उनले सशस्त्र प्रहरीले तयार पारेकाे प्रस्ताव राम्राे रहेकाे भन्दै बिओेपी रहने स्थान, आवश्यक पुर्वाधारलगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिए। शान्त, समृद्ध र स्वाधीन नेपालका लागि सीमा व्यवस्थापन अनिवार्य शर्त रहेकाे बताउँदै गृहमन्त्री थापाले यसका लागि राज्यले बजेटमा कन्जुस्याइँ गर्न नहुने बताए।

तत्कालै वा चरणबद्ध रुपमा पाँच सय स्थानमै बिओेपी स्थापना प्रक्रिया अगाडि बढाइने उनले प्रतिबद्धता व्यक्त गरे। उनले अहिले जटिल परिस्थितिमा सिमित , स्राेत र साधनका बाबजुद सीमामा काेराेना नियन्त्रणका लागि सुरक्षा निकायले खेलेकाे भूमिका प्रशंसनीय रहेकाे टिप्पणी गरे। गृहसचिव महेश्वर न्याैपानेले सीमाकाे विषय संवेदनशील विषय भएकोले सीमाबाट हुने अपराध, चाेरी, तस्करी नियन्त्रणका लागि समेत बिओेपी बढाउनुकाे विकल्प नरहेको बताए।

उनले भन्सारकाे १ सय ११ ठाउँमा रहेकाे जग्गा बिओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएकाे जानकारी दिँदै अन्य स्थानमा प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला प्रशासनसँगकाे समन्वयमा आवश्यक जग्गा खोज्न सशस्त्र प्रहरीलाई निर्देशन दिए। यसअघि सीमाक्षेत्रमा ८७ बिओपीमात्रै रहेकोमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रालय सम्हालेपछि यसमा ठूलाे संख्यामा थप गरी १२० पुर्‍याइएको छ।

त्यस्तै बिओपी संख्या २२१ पुर्‍याउने गृहमन्त्रीको प्रस्ताव मन्त्रीपरिषद्ले यसअघि नै पारित गरिसकेकाे छ। यसअघि बिओपीमा करिब ५ हजार जनशक्ति रहेकोमा कोरोनाको संक्रमणका कारण सीमा सिलपछि ८ हजार ३ सय ८३ थप जनशक्ति सीमामा थपिएको हाे। गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्ला, हेडक्वार्टरलगायतका स्थानमा रहेका जनशक्ति घटाएर सीमामा पठाउन निर्देशन दिएसँगै अहिले ठूलाे संख्यामा सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन्।

सशस्त्रको १ सय २१ स्थानमा मात्रै बिओपी रहेपनि कोरोनाको संक्रमणका कारण सीमा सिलपछि त्यसलाई विस्तार गरी १२ सय स्थानमा अस्थायी र स्थायी पाेस्ट विस्तार गरिएको सशस्त्रले जनाएकाे छ।