२४ घन्टामा सुदूरपश्चिममा १३ जनाको मात्रै कोरोना परीक्षण

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुस्त रुपमा भइरहेको छ। पछिल्लो २४ घन्टामा सुदूरपश्चिमका १३ जनाको मात्रै पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको हो।

निर्देशनालयका अनुसार पिसिआर परीक्षण गरिएका १३ जनाकै रिपोर्ट नेगेटिभ आएको छ। सोमबार नै एक सय ८ जनाको र्‍यापिड टेस्ट गरिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयअनुसार कसैमा एन्टिबडी देखाएको छैन।

सोमबार पिसिआरबाटै कोरोना परीक्षणका लागि ६० जनाको थ्रोट स्वाब संकलन गरिएको छ। संकलन गरिएका ६० जनाकै नमुना परीक्षण रिपोर्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सुुदूरपश्चिम प्रदेशमा अहिलेसम्म दुवै विधिबाट १७ हजार एक सय ३९ जनाको कोरोना र एन्टीबडी परीक्षण भएको छ। पिसिआर विधिबाट दुई हजार ८ सय ९५ जनाको परीक्षण र १४ हजार दुई सय ४४ जनाको र्‍यापिड टेस्ट गरिएको हो।

पिसिआर प्रविधिबाट परीक्षण गरिएकामध्ये हालसम्म पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये चार जना निको भएर घर गएका छन् भने एक जना उपचाररत छन्। आरडिटी गरिएकामध्ये १० जनामा पोजेटिभ देखिए पनि उनीहरूको पिसिआर नेगेटिभ देखिएको जनाइएको छ।

सुदूरपश्चिममा हालसम्म चारजना संक्रमित सहित कोरोना भाइरस संक्रमणको आंशकामा आइसोलेसनमा राखिएका एक सय १९ जनालाई डिस्चार्ज गरिएको छ। नौ जिल्ला रहेको प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा स्थापना गरिएका आइसोलेसनबाट अहिलेसम्म एक सय १९ जनालाई डिस्चार्ज गरिएको हो। शंकास्पदलाई कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो भने संक्रमितलाई दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो।

प्रदेशभरीका क्‍वारेन्टाइनमा तीन हजार पाँच सय ७३ जनालाई राखिएको छ। प्रदेशभरी ९ हजार ५६ जना अटाउने तीन सय ९२ वटा क्‍वारेन्टाइन स्थापना गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेशभरी विभिन्न ठाउँमा एक सय ५४ जना अटाउने आइसोलेसन कक्षहरु पनि निर्माण गरिएको जनाइएको छ।

कोरोना आशंकामा ४ जना आइसोलेसनमा

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा चार जना शंकास्पद बिरामी थपिएका छन्। दुई दिनको अवधिमा कैलाली, कञ्चनपुर र कालिकोटका चार जनालाई कोरोना आशंकामा अस्पतालको आइसोलेसनमा राखिएको हो।

कैलालीको जिल्लाको गौरीगंगा नगरपालिकाको मसुरीयाका ३२ वर्षीय पुरुष र उनकी ८ वर्षकी छोरीलाई पनि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। दुबैमा रुघाखोकी र ज्वरो आएपछि अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ।

दुबै जनाको आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको अस्पताल जनाएको छ। दुबै जनाको थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षणका लागि धनगढीस्थित प्रयोगशालामा पठाइएको छ।

यसअघि आइतबार कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाकी एक युवतीलाई पनि प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो। शुक्लाफाँटा नगरपालिकाकी १८ वर्षीय युवतीलाई आइसोलेसनमा राखेर थ्रोट स्वाब संकलन गरिए पनि अझै परीक्षण रिपोर्ट आएको छैन।

सोमबार साँझ आइसोलेसनमा थप एक जनालाई भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए। कालिकोटको शुभकालिका गाउँपालिका घर भई हाल कैलालीको अत्तरियामा दाइसँग बस्दै आएका २१ वर्षीय पुरुषलाई आइसोलेसनमा राखिएको हो।

सूचना अधिकारी श्रेष्ठका अनुसार उनको थ्रोट स्वाब भने मंगलबार मात्रै संकलन गरिनेछ। सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीय कोरोना संक्रमित महिलाको पनि उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था पनि सामान्य छ।