मलेसियाले अवैधानिक श्रमिकलाई स्वदेश फर्कन १४ दिनको समय दिने

काठमाण्डौ – कोरोनाको जोखिमकै बेला कुवेतपछि मलेसिया सरकारले पनि अवैधानिक श्रमिकका लागि आममाफीको समय दिने भएको छ । मलेसियाले भिसाको अवधि सकिएकालाई स्वदेश फर्कन १४ दिनको समय दिन लागेको हो । कुवेतमा आममाफीको लागि आवेदन दिने म्याद पनि सकिसकेको छ ।
कुवेतको आममाफीमा झण्डै २६ सय नेपालीले यात्रा अनुमतिपत्र दूतावासबाट बनेको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

कुवेतले दिएको आममाफीमा सहभागी हुन दुईवटा विकल्प थियो । पहिलो, पासपोर्ट नहुनेले दूतावासमा गएर यात्रा अनुमति पत्र बनाउने । दोस्रो पासपोर्ट हुनेले कुवेतले तोकेको ठाउँमा सिधै सम्पर्क गर्ने ।

तर राजदूत भण्डारीका अनुसार पासपोर्ट साथैमा भएका नेपालीहरु नगन्य रहेका छन् । ‘यहाँ पासपोर्ट साथमा हुने एकदमै कम नै हुनुहुन्छ,’ राजदूत भण्डारीले भन्नुभयो, ‘कति हुनुहुन्छ भनेर अहिले कुवेतले ठ्याक्कै तथ्याँक दिएको छैन ।’