लकडाउन मात्रै होइन, परीक्षण पनि बढाउन विज्ञको सुझाव

सरकारले लकडाउन खुकुलो पार्ने गृहकार्य अगाडि बढाइरहँदा कोरोनाको परीक्षणलाई समेत बढाउनुपर्ने चिकित्सक र विज्ञहरुले बताएका छन्। संक्रमितको संख्या बढ्दै गएको भन्दै उनीहरूले परीक्षणको दायरा थप बढाउन सरकारलाई सुझाएका छन्।अहिलेसम्म साढे १३ हजार व्यक्तिको मात्र कोरोनाभाइरसको परीक्षण गरिएको छ। जसमा संक्रमित संख्या ७५ छ। १६ जना निको भएका छन्।

आइतबार मात्र नेपालगन्जमा एकैदिन १५ जना व्यक्तिमा संक्रमण देखिएको थियो। समुदायमै धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएपछि परीक्षणलाई व्यापक बनाउनुपर्ने चिकित्सकहरूको जोड छ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइरालाले सरकारले परीक्षणको दायरालाई बढाउँदै निश्चित मापदण्ड बनाएर लकडाउनलाई खुकुलो पार्दै लानुपर्ने बताए। लकडाउन यथावत रहँदा त्यसले अत्यावश्यक सेवा प्रभावित हुने र त्यसले मान्छेको ज्यानै जान सक्ने स्थिति आइपर्ने उनी बताउँछन्।

‘अहिले लकडाउनले गर्दा स्वास्थ्य सेवा धेरै प्रभावित भएको छ। अन्य विरामीले समयमै सेवा पाइरहेका छैनन्’ उनले भने, ‘ठाउँ र संक्रमणको अवस्था हेरेर यस्तो सेवालाई अलिक सहज बनाउन सकिन्छ।’

उनले संक्रमणको जोखिम हेरेर ठाउँहरूलाई हरियो, पहेँलो र रातो जोनमा वर्गीकरण गरेर सोही अनुसार लकडाउनको मोडालिटी अपनाउन सकिने जनाए। कृषि र उद्योगलाई समेत मोडालिटी अनुसार खुकुलो बनाउँदै जान सकिने उनको भनाइ छ। तर त्यसको लागि उनीहरूमा हुने जोखिमको निरन्तर निगरानी राख्नुपर्ने उनी बताउँछन्।

‘लकडाउन खुकुलो पार्ने तर परीक्षण र निगरानी नगर्ने हाे भने जंगलमा डढेलो लगाएजस्तै हुन्छ। स्थिति झन् भयानक हुन्छ,’ उनले भने।धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्नल मेडिसिन विभागका प्रमुख प्राध्यापक सञ्जीवकुमार शर्मा पनि परीक्षणको दायरा बढाउनुपर्ने बताउँछन्।

सरकारले सीमित स्रोतको अधिकतम उपयोग गरेर परीक्षण बढाउनुपर्ने उनले बताए। सरकारले ‘पुल टेस्ट’ को विधि अपनाएर एउटाको ठाउँमा दश वटा परीक्षण गर्न सक्ने शर्मा बताउँछन्।

‘हाम्रोमा अहिले नै धेरै संक्रमण फैलिसकेको छैन। यस्तोमा सरकारले पुल टेस्ट गर्नसक्छ,’ उनले भने, ‘त्यो भयो भने हामीले धेरै परीक्षण गर्न सक्छौं।’उनले लकडाउनलाई केही खुकुलो बनाउन सकिएपनि परीक्षणलाई भने थप बढाउनुपर्ने जरुरी रहेको बताउँछन्। धेरै संक्रमित भारतबाट आएको देखिएकाले लकडाउन कस्तो गर्ने भन्ने कुरा भारतको स्थितिले समेत निर्क्यौल गर्ने शर्माको तर्क छ।

‘तराईमा जोखिम छ। त्यसैले सीमा नाका थप कडाइ गर्नुपर्छ,’ उनले भने, ‘भारतले लकडाउन खोलेको दुई सातासम्म पनि नेपालले लकडाउन जारी राख्नुपर्छ।’

जनस्वास्थ्य विज्ञ समीरमणी दीक्षित पनि परीक्षणको बाहनामा लकडाउनलाई यथावत राख्नु नहुने तर्क गर्छन्। उनी पनि विस्तारै संक्रमणको जोखिम न्यून रहेको ठाउँहरूलाई विस्तारै खुकुलो गर्न सकिने बताउँछन्।

उनले सरकारले लकडाउनको सुविधामा परीक्षणको लाभ लिन नसकेको जनाए। ‘हामीले लकडाउन गरेकै संक्रमणको जोखिम थाहा पाउन हो। फैलिन नदिनुलाई हो तर सरकारले आवश्यक परीक्षण गर्न सकेन,’ उनले भने।

सरकारले अहिले ३ सयको दरले दैनिक पिसिआर परीक्षण गर्दै आएको छ। एक चिकित्सकले सेतोपाटीसँग भने, ‘हामीसँग दैनिक ३ हजार व्यक्तिको परीक्षण गर्ने क्षमता छ। तर खोइ परीक्षण भएको?’

अहिले देशभर १६ वटा प्रयोगशालाहरूबाट पिसिआर परीक्षण भइरहेको छ। सरकारले र्‍यापिड टेस्टलाई भन्दा पनि पिसिआर परीक्षणलाई नै जोड दिनुपर्ने विज्ञहरूको सुझाव छ।