विश्वकै लामो पुल बागलुङमा, गिनिज बुकमा दर्ता तयारी

बागलुङ । विश्वकै लामो झोलुङ्गे पुलको निर्माण सम्पन्न भएपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गर्ने तयारी भएको छ । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुुवाबारी जोड्ने ५ सय ६७ मिटर लामो सिंगल स्पानको पुल निर्माण सम्पन्न भएपछि गिनिज बुकमा दर्ता गराउने तयारी भएको हो ।

यो पुल विश्वकै लामो भएकाले यसलाई गिनिज बुकमा दर्ता गर्न प्रक्रिया अगाडि बढाइएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । सिंगल स्पान प्रविधिमा निर्माण भएको उक्त पुल विश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल भएको प्रमाणसहित गिनिज बुकमा दर्ता प्रक्रिया अगाडि बढाउन लागेको उहाँको भनाइ रहेको छ ।

झोलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङ जिल्लामा ५ सय भन्दाबढी झोलुङ्गे पुल छन् । सामान्यतया ५ मिटरदेखि ५ सय ६७ मिटर लामो पुल बागलुङमा नै निर्माण भएका छन् । सिंगल स्पान प्रविधिमा बनेको झोलुङ्गे पुलमध्ये यसअघि स्वीजरल्याण्डमा ४ सय ९४ मिटर लामो रहेको बताइएको छ।

गिनिज बुकमा दर्ता गर्न पठाउनु पर्ने कागजात तयार गरी प्रक्रिया अगाडि बढाउने र त्यस पश्चात विश्व कै लामो पुल भनि नाम आउने जानकारी दिँदै पौडेलले पुलले बागलुङमा हरेक दिन हजारौँ आन्तरिक तथा बाह्या पर्यटक भित्र्याउन समेत महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

२०७५ सालमा सम्झौता गरी निर्माण शुरु भएको पुलको काम सम्झौता मितिभन्दा एक वर्ष अडाडि नै सम्पन्न भएको बताइएको छ । निर्मित पुलको हस्तान्तरण हुन भने बाँकी छ ।