लकडाउनमा गाउँ फर्किएका युवा विकास निर्माणमा जुटे

बेनी : कोरोना (भाइरस) रोकथामका लागि गरिएको लकडाउनपछि गाउँमा गएका युवाहरु श्रमदान र विकास निर्माणमा जुटेका छन् । लकडाउनपछि सहरी क्षेत्रबाट गाउँमा पुगेका फुर्सदीला युवाहरु सडक निर्माण, स्तरोन्नति, सिचाइ, भवन, खानेपानी, खेलमैदान निर्माण लगायत विकास निर्माणका काममा जुटेका हुन् ।

रघुगंगा गाउपालिका २ भगवतिको पखटोलमा काठमाडौं, पोखरा र बेनीलगायतका सहरबाट आएका युवाहरुले श्रमदान गरेर एक किलोमिटर सडक खनेका हुन् । बाक्लो बस्तीभित्र सवारी साधनलाई आवातजावत गर्न मिल्ने सडक बनाउन श्रमदान गरेका स्थानीय निर्मल केसीले बताए । अर्जुन खत्रीको संयोजकत्वमा दैनिक दशजना युवाहरुले घरायसी र खेतबारीको कामबाट बचेको समयमा सडकमा श्रमदान गरेका थिए ।

‘फुर्सदलाई सदुपयोग गरेर सडक बनाएका हौं, ‘खत्रीले भने, ‘बस्तीभित्र एम्बुलेन्स, जीप पुग्न सक्ने सडक भयो भने सबैलाई सुविधा पुग्छ ।त्यही भएर सबै दाजुभाइ मिलेर काम गरिरहेका छौं।’ भगवतिका वडा अध्यक्ष रिमबहादुर कटुवालले युवाहरुलाई विकासका काममा परिचालन गर्दा उनीहरुको विकास योजनाप्रति अपनत्व हुने र विकृतिबाट टाढा राख्न सहयोग पुग्ने बताए ।

युवाहरुले सुरु गरेको सडक निर्माणलाई पूर्णता दिन आगामी वर्षको बजेटमा प्राथमिकता दिने उनले बताए । म्याग्दीको अन्य ठाउँमा पनि लकडाउनपछि गाउँमा पुगेका युवाहरुले स्थानीय तहले बजेट बिनियोजन गरेका सडक, खानेपानी, भवन लगायत विकास निर्माणको कामको नेतृत्व गरेका छन् ।

बेनीमा बस्दै आएका बेनी-१० पात्लेखेतका समिर रोकाले लकडाउनपछि गाउँ गएको समयमा उपभोक्ता समितिको नेतृत्व गरेर नेपाने देखि धैरेनी टोल जोड्ने सडक निर्माण गरेका छन् ।’डोजर र स्थानीय जनशक्ति परिचालन गरेर सडक खनेका हौ,’ उनले भने, ‘लकडाउनका बीच गाउँमा सडक पुर्‍याउँदा खुसी भएका छौं।’

नेपानेदेखि धैरेनी टोल जोड्ने सडक दुई किलोमिटर छ । २२ घरधुरी लाभान्वित भएका छन् । माइक्रोबस, जीप, ट्याक्टर, मोटरसाइकललगायतका सवारी साधन चलाउन सकिने भएको छ । सडक पाँच मिटर फराकीलो छ ।

बेनी नगरपालिकाले चार लाख रुपैयाँ बिनियोजन गरेको सडक निर्माणमा उपभोक्ताले एक लाख रुपैयाँ बराबरको श्रमदान गरेका थिए । यसैगरी लकडाउनकै बीच अन्नपूर्ण गाउँपालिका-५ शिखको तल्लो गाउँदेखि घिर्वाङ जोड्ने २.५ किलोमिटर सडक निर्माण भएको छ । स्थानीय स्तरमा उपलब्ध उपकरण (डोजर र मजदुर) परिचालन गरेर सडक निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष भविन्द्र गुरुङले जानकारी दिए ।

‘यही भएको डोजर र मजदुरलाई सामाजिक दुरी कायम गरेर सतर्कता अपनाएर सडक खनेका हौं,’ उनले भने, ‘विकास पनि भयो, मजदुरहरुले रोजगारी पनि पाए।’ सडकको चौडाई ४.५ मिटर छ ।

१५ लाख ७१ हजार ८७० को लागतमा सडक निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । अन्नपूर्ण गाउपालिकाले आठ लाख २५ हजार रुपैयाँ बिनियोजन गरेको सडक निर्माणमा स्थानीय स्रोत र नगद समेत परिचालन भएको वडा अध्यक्ष दिनेश तिलीजाले बताए ।

तल्लो शिखबाट चार लाख, पाउद्धारबाट एक लाख, शिख देउरालीबाट पचास हजार र किन्दुबाट पचास हजार आर्थिक सहयोग संकलन भएको थियो । उपभोक्ताले एक लाख ४६ हजार ८७० बराबरको श्रमदान गरेका छन् ।

सडक निर्माण भएपछि शिख, किन्दु, झारवाङका १३० घरधुरीका ५०० जनसंख्या लाभान्वित भएका छ । आवत जावत, निर्माण र खाद्यान्न सामग्री ढुवानी तथा आलु, तरकारीलगायत कृषि उपज निकासीमा सहज भएको छ ।