एसियामा कोरोना संक्रमित संख्या २ लाख ५० हजार, संक्रमणदर अमेरिका र युरोपको भन्दा कम

मंगलबारसम्म एसियामा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार पुगेको छ।पछिल्लो समय सिगांपुर, पाकिस्तान र भारतमा संक्रमितको संख्यामा वृद्धि देखिएको भएपनि समग्रमा एसियामा कोरोनाको संक्रमण युरोप र अमेरिकामा भन्दा कम रहेको छ।

सुरुमा संक्रमण बेहोरेका चीन, दक्षिण कोरिया र जापानमा हाल संक्रमितको संख्या घट्दै गइरहेको छ।चीनको वुहान सहरमा जनवरी १० मा पहिलोपटक यो भाइरस देखा परेको थियो। हाल चीनमा यो नियन्त्रण उन्मुख छ भने उत्तर अमेरिका र युरोपमा महामारीकै रुपमा छ।

एसियामा संक्रमितको संख्या २ लाख ५० हजार पुग्न झन्डै चार महिना लाग्यो।तर यूरोपेली देश स्पेनमा त्यो संख्या पुग्न दुई महिनामात्र लाग्‍यो।
एसियाको संख्या भनेको विश्वव्यापी संक्रमित संख्याको ७ प्रतिशत हो। विश्वका कुल संक्रमितमध्ये ४० प्रतिशत संक्रमित युरोपबाट छन् भने उत्तर अमेरिकाबाट ३४ प्रतिशत छन्।

विशेषज्ञहरुले भने रिपोर्ट नभएका संक्रमितहरु हुनसक्नेमा चिन्तित छन् किनभने यसले महामारीको वास्तविक तथ्यांक अर्कै देखाउने उनीहरूको अनुमान छ।अझ थुप्रै देशहरूले अस्पतालमा भएका मृत्युको संख्यामात्र रेकर्ड भएको र घर तथा नर्सिङ होमहरूमा भएका मृत्युलाई तथ्यांकमा समावेश नगरिएकाले वास्तविक संख्या सोचेभन्दा धेरै भएको अनुमान छ।

एसियामा कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या उल्लेखनीय रूपमा कम देखिएको छ।कोरोनाको विश्वव्यापी मृत्युमध्ये जम्मा ४ प्रतिशत मृतकमात्र एसियाली मुलुकबाट छन्। जबकी यसमा युरोपको हिस्सा ५७ प्रतिशतमा छ भने उत्तर अमेरिकाको २९ प्रतिशत छ। तुलनात्मक हिसाबमा स्पेन, इटाली, संयुक्त अधिराज्य र फ्रान्समा २५ हजार बढीको मृत्यु भएको छ। अमेरिकामा मात्र ७० हजार बढीले संक्रमणका कारण ज्यान गुमाएका छन्।