भारतबाट फर्केर क्वारेन्टाइनमा बस्नेहरुको माग – हामीलाई भत्ता चाहियो

२४ वैशाख, कैलाली । भारतबाट फर्किएर स्थानीय तहको क्वारेन्टाइनमा बसेकाहरूले भत्ता माग गरेका छन् ।भारतबाट मजदुरी गरेर ल्याएको रकम पनि सकिएको भन्दै दार्चुलाको मार्मा गाउँपालिकाको क्वारेन्टाइनस्थलमा बसेकाहरुले राहत स्वरुप भत्ता माग गरेका हुन् । ‘३४ दिन भारतको क्वारेन्टाइनमा बस्यौं। यहाँ कति दिन बस्नुपर्ने हो थाहा छैन,’ मार्मा गाउँपालिका ५ दिलेन्द्र सिंह महताले भने, ‘हामीलाई यहाँ बसेको भत्ता चाहिन्छ । ’

खेती गर्ने समय सुरु भएको तर, आफूहरुसँग रकम नभएको भन्दै उनले राहत स्वरुप पैसा पाउनुपर्ने बताएका हुन् । ‘लेबरी गरेर ल्याएको पैसा भारतको क्वारेन्टाइनमा बस्दा सकियो,’ उनले भने, ‘छोराछोरीले के ल्याइदिनु भयो भन्छन् । हामीले भत्ता पायौं भने त्यही पैसाले उनीहरुको लागि सामान लैजानुपर्छ ।’

मुरईका झमे महताले पनि सरकारले राहत नदिए आफूहरु थप समस्यामा पर्ने बताए । ‘ठेकेदारले पुरै पैसा दिएन । दिएको पैसा पनि सकियो,’ उनले भने, ‘हामीलाई त यहाँ भत्ता चाहिन्छ ।’

मंसिर महिनामा भारत गएका उनी पुरै काम गर्न नपाई फर्किएको बताउँछन् । ‘३०/४० हजार कमाइ हुनुपर्नेमा २०/२५ हजार मात्रै भयो । त्यतिमा पनि ठेकेदारले ४/५ हजार रुपैयाँ मात्रै दियो’ उनले भने ।

कमाएर ल्याएको पैसा पनि सकिएपछि उनले घर जान क्वारेन्टाइनबाट भत्ताको अपेक्षा गरेको उनले सुनाए ।क्वारेन्टाइमा बसेका गम्भीर सिंह महता पनि घरमा समस्या रहेको भन्दै भत्ता पाए सजिलो हुने बताउँछन् । ‘हामीसँग भएको पैसा रित्तियो । घरमा खान लाउननै समस्या परेको छ’ उनले भने, ‘जति रुपैया भए पनि हुन्छ तर, सरकारले हामीलाई भत्ता दिनुपर्छ ।’रोजगारीको लागि गएको व्यक्तिनै रित्तो हात घर फर्किदा निकै समस्या हुने उनी बताउँछन् ।