भारतमा रासायनिक ग्यास चुहावट हुँदा ८ जनाको मृत्यु, पाँच गाउँ खाली गराइयो

भारतको आन्ध्र प्रदेशको विशाखापत्तनममा रहेको रासायनिक प्लान्टमा ग्यास चुहावट हुँदा आठ जनाको मृत्यु भएको छ। अहिले त्यहाँको स्थिति भयावह भएको छ।

भिजाग प्रहरी आयुक्त आरके मीनाले बीबीसी तेलुगुलाई दिएको जानकारीअनुसार ग्यास चुहावट हुँदा तीन जनाको घटनास्थलमै र ५ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

लजी पोलिमर्स इन्डिया प्रालिको केमिकल प्लान्टबाट ग्यास चुहावट भएको हो। लकडाउनपछि काम सुरु भएको प्लान्टबाट ग्यास लिक भएको हो। ग्यास लिक हुँदा स्थानीय बासिन्दा सुतिरहेका थिए।

प्रहरीले वरपरका पाँच गाउँ खाली गराएर स्थानीयलाई मेघद्री गेड्डा र अन्य सुरक्षित ठाउँमा लगेको छ।धेरैलाई आँखा पोल्ने र सास फेर्न गाह्रो भइरहेको छ। ग्यास चुहावट हुँदा दुई सयजना भन्दा बढी बिरामी परेकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।