लकडाउनको ४५औँ दिन, चेकजाँचमा अझ कडाइ

काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउन गरेको बिहीबार ४५ दिन पुगेको छ । गत चैत ११ गतेदेखि लागू गरिएको लकडाउन आज ४५ दिन पुगेको हो ।

देशमा कोरोना संक्रमितको संख्या बढेसँगै लकडाउनको अवधि पनि थपिँदै गएको छ । त्यसैगरी सवारीसाधनको चेकजाँच गरी आवतजावतमा समेत कडाइ गरिएको छ । बिहीबारसम्मका लागि लागू गरिएको लकडाउनलाई सरकारले बुधबार पुन जेठ ५ गतेसम्मका लागि थप गरेको छ ।

लामो समयदेखिको लकडाउनका कारण जनजीवन प्रभावित भएपनि मानिसले लकडाउनलाई पालना गरिरहेका छन् । तर सडकमा केही अत्यावश्यक सेवा तथा कर्मचारीका सवारीसाधन सञ्चालनमा आएका छन् । प्रहरीले लकडाउन पालना गराउन सवारी साधनको चेकजाँचलाई कडाइ गरेको छ ।

प्रहरीले पास बिना सञ्चालनमा आएका सवारी साधनलाई नियन्त्रणमा लिइ कारबाही गरिरहेको छ । सहरका भित्रि सडकमा भने केही तरकारी एवं खाद्य पसलहरु खुलेका छन् । मानिसहरु आफ्नो घर नजिक रहेको पसलसम्म पुगेर दैनिक उपभोग गर्ने सामग्रीहरु किनमेल गरेको देख्न सकिन्छ ।