लकडाउन खुकुलो बनाइएपछि प्रेमीप्रेमिकाको भावुक पुनर्मिलन

इटलीले दुई महिनासम्म लगाएको कडा लकडाउन अलिक खुकुलो बनाएपछि प्रेमीप्रेमिकाहरू खुशी भएका छन् ।लकडाउन अवधिभरि फोन र सामाजिक सञ्जालमा मात्र भेटेर प्रेम साटासाट गर्न पाएका उनीहरूले नियन्त्रण खुकुलो बनाएको मौका छोप्दै शारीरिक मिलनको आनन्द उठाएका हुन् । नेपल्समा रहेका जोडीहरूले एकअर्कालाई चुम्बन गर्ने अनि अँगालो हाल्ने काम गरे ।

इटली लकडाउनको दोस्रो चरणमा प्रवेश गरेको छ । लकडाउन अवधिभरि सामान्य इटालेलीहरूले आफ्नो घरको १०० सय मिटरभन्दा पर जान पाएका थिएनन् । जायज कारण विना घरबाट टाढा जाने मानिसलाई सोधपुछ गर्ने, जरिवाना तिराउने र कारावास सजाय समेत दिने गरिएको थियो । तर नियन्त्रण खुकुलो पारेपछि लाखौं मानिस आफ्ना प्रिजनलाई भेटेन निस्किए । धेरैले मास्क लगाएका थिए ।

तर मानिसहरूले प्रियजनलाई भेट्दा रमाइलो दृश्य देखिएपनि लकडाउन पूरै अन्त्य गर्दा कोरोनाभाइरसको दोस्रो लहर आउने चेतावनी दिइएको छ । मानिसहरूले २० प्रतिशत मात्र सामान्य गतिविधि गर्दा पनि अहिलेको भन्दा बढी मृत्यु संख्या हुने चेतावनी विज्ञहरूले दिएका छन् । तर देशमा लकडाउन कायम राखिरहेमा मृत्युसंख्या निरन्तर घट्दै जाने उनीहरूको कथन छ ।