दुई अध्यक्षबीच छलफल सकिएलगत्तै स्थायी कमिटी बैठक आह्वान हुन्छ– प्रचण्ड

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहकार्य नपुगेका कारण स्थायी कमिटी बैठक केहीदिन पछिलाई सारिएको बताएका छन् ।

बिहीवार नयाँ बानेश्वरस्थित संसद सभाहलको अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले गृहकार्य पूरा हुनेबित्तिकै स्थायी कमिटी बैठक बोलाउने बताएका हुन् ।

‘गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक तत्कालका लागि स्थगित गरिएको हो,’ उनले भने, ‘दुई अध्यक्षबीच छलफल सकिएलगत्तै केही दिनमा बैठक आह्वान हुन्छ ।’

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउन नचाहेको आरोप लागिरहेका बेला प्रचण्डले अध्यक्षद्वयको छलफलपछि स्थायी कमिटी बैठक बोलाइने स्पष्ट पारेका हुन् । गत शनिवार बसेको सचिवालय बैठकले यही बिहीवारका लागि स्थायी कमिटी बैठक बोलाउने निर्णय गएको थियो ।

स्थायी कमिटी बैठक बस्ने अघिल्लो दिन अध्यक्ष ओलीले तत्काल स्थायी कमिटी बैठक बोलाउनु पार्टीको प्राथमिकता नरहेको बताएर बैठक हलबाट बाहिरिएका थिए ।त्यसपछि अध्यक्षद्वय प्रचण्ड-ओलीबीच छलफल भएको थियो ।

स्थायी कमिटी बैठक बोलाउनुपर्ने भन्दै हस्ताक्षरसहित अध्यक्षद्वयलाई बुझाएका नेताहरू भने आजै पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा जम्मा भएका छन् ।उनीहरू डेढ घण्टा छलफल गरेर बाहिरिएका थिए ।