सांसदहरुको कोराना परीक्षण किटको मात्रै नोक्सानी : सामाजिक मन्त्री दुलाल

हेटौडा, २६ बैशाख । बिहीबार संघीय सांसदहरुको पीसीआर प्रविधिबाट कोरोना संक्रमणको परीक्षण गरिएको प्रति बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल (शरद) ले सांसदहरुको कोरोना परीक्षण गर्नु ‘किटको मात्रै नोक्सानी’ भएको धारणा व्यक्त गर्नु भएको छ ।

उहाँले आरटीडी र पीसीआर प्रविधिबाट परीक्षणको राष्ट्रिय प्रोटोकल अनुसार जोखिमयुक्त स्थानको ट्राभल हिष्ट्री र लक्षण विपरित सांसदहरुको स्वाब संकलन गरी परीक्षण गर्नु किटको नोक्सानी मात्रै भएको र प्रोटोकल विपरीत रहेको बताउनु भएको हो ।

सांसदलाई गरेको कोरोना टेष्ट प्रति सामाजिक सञ्जाल मार्फत असन्तुष्टि व्यक्त गर्दै मन्त्री दुलालले संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ‘सही कुराको लागि किन बोल्न सक्दैन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ? भन्दै प्रश्न गर्नु भएको छ ।

मन्त्री दुलालले आफ्नो फेसबुक एकाउण्टमा ‘स्वास्थ्य सामग्रीको आदर्शतम उपयोग गरौं । भयाबह स्थितिको लागि एकएक सामानको सहि प्रयोग र सुरक्षा गर्न जरुरी’ रहेको उल्लेख गर्नु भएको छ ।

उहाँको स्टाटस यस्तो छ :

आरटीडी परीक्षणको राष्ट्रिय प्रोटोकल विपरित सांसदहरुको स्वाव कलेक्सन गर्नु किटको नोक्सानी मात्र हो । किन बोल्न सक्दैन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ? सहि कुराको लागि ? अब स्वास्थ्य सामग्रीको आदर्शतम उपयोग गरौं ।

भयावह स्थितिको लागि एक एक सामानको सहि प्रयोग र सुरक्षा गर्न जरुरी छ । बिनम्रतापूर्वक अनुरोध गर्छु कि हामी मन्त्री, साँसद र उच्च पदस्थ कर्मचारीले एन ९५ मास्क नलगाऔं । स्वास्थ्य सेवामा तल्लीन जनशक्ति र संक्रमित वा बिरामीलाइ मात्र सुहाउँछ एन-९५ मास्क । धन्यवाद ।

मन्त्री दुलालले देशका कतिपय कोरोना संक्रमण परीक्षण केन्द्रमा परीक्षण कीटको अभावले अति जरुरी रहेको परीक्षण समेत हुन नसकेको वर्तमान अवस्थामा संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा नगएका, भाईरस जोखिमयुक्त क्षेत्रमा नगएका र केही लक्षण समेत नदेखिएका सांसदलाई पीसीआर प्रविधिबाट परीक्षण गर्नु किटको दुरुपयोग र जनभावना विपरित भएको धारणा व्यक्त गर्नु भएको हो ।