शुक्रिया ! चिकित्सक टोली, शुक्रिया !

विराटनगर – विराटनगरमा रहेको कोरोना विशेष अस्पताल (कोभिड–१९ उपचार केन्द्र) अगाडि शुक्रबार केही विशेष व्यक्तिको उपस्थिति थियो । केन्द्रमा उपचारपछि कोरोना सङ्क्रमणबाट निको भएका ८ जनालाई डिस्चार्ज गर्ने तयारी भइरहँदा अस्पतालबाहिर १० जना मुस्लिम अगुवाहरु सफल उपचार गरिएकोमा खुसी देखिन्थे ।

उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिन मुस्लिम अगुवाहरुले लाइनमा बसेर ‘शुक्रिया’ लेखिएका कागजहरु हातमा बोकेका थिए ।विराटनगरका मुस्लिम अगुवा ईमाम हैदरले कोरोना बिरामीलाई सङ्क्रमणलाई मुक्त गराउन सरकारले गरेको राम्रो काम गरेको र स्वास्थ्यकर्मीहरुको हौसला बढाउन आफूहरु आएको बताउनुभयो ।

उनीहरुले हातमा बोकेका कागजमा लेखिएको थियो, ‘शुक्रिया ! शुक्रिया ! चिकित्सक टोली, शुक्रिया !, धन्यवाद सरकार र जिल्ला प्रशासन कार्यालय, शुक्रिया ! शुक्रिया ! सुरक्षाकर्मी, शुक्रिया !, शुक्रिया ! डाक्टर संगीता मिश्र, शुक्रिया !, शुक्रिया ! सामाजिक विकास मन्त्री जीवन घिमिरे, शुक्रिया ।’

विश्वमा कोरोना महामारीको कारण ठूलो सङ्ख्यामा सर्वसाधारणको ज्यान गइरहेको वेला प्रदेश सरकार र यहाँका स्वास्थ्यकर्मीले कोरोना सङ्क्रमितहरुलाई स्वस्थ्य बनाउन महत्वपूर्ण भूमिका खेलेकाले सार्वजनिक रुपमा हार्दिक धन्यवाद दिइएको हैदरले भन्नुभयो ।

कोभिड उपचार केन्द्रमा उपचार गराउँदै आएकामध्ये ६ जना कोरोना सङ्क्रमित निको भएर दुई दिनअघि डिस्जार्च भएका थिए । यस्तै शुक्रबार ८ जना निको भएर घर फर्किएका छन् ।

उदयपुरका ५, विराटनगर महानगरपालिका वडा नम्बर १७ रानीका २ र भारतीय नागरिक एक जनासहित ८ जना डिस्चार्ज भएको कोशी अस्पतालकी प्रमुख डा. संगीता मिश्राले जानकारी दिनुभयो । आज डिस्जार्च भएकोमध्ये ३ जनालाई रानीको मर्कजमा पठाइएको छ भने ५ जनालाई उदयपुर पठाइने डा. मिश्राले बताउनुभयो ।कोरोना विशेष अस्पतालमा रहेका ३१ जनामध्ये अहिलेसम्म १४ जना डिस्चार्ज भएका छन् । अहिले १७ जनाको उपचार भैरहेको छ ।