कोरोना भाइरस: नेपालगञ्जमा १६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि, नेपालमा कुल सङ्क्रमित १०२

नेपालगञ्जमा एक १६ वर्षीय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।यससँगै नेपालमा कुल सङ्क्रमित व्यक्तिको सङ्ख्या १०२ पुगेको छ।भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा. प्रकाश थापाका अनुसार पछिल्लो पटक लिइएको १३० वटा स्वाब परीक्षण गर्दा एक १६ वर्षका किशोरमा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप सङ्क्रमणको पुष्टि गर्दै ३० जना निको भएको बताएका छन्।

को हुन् नयाँ सङ्क्रमित?
सङ्क्रमित किशोर पनि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ जोलहन पुर्वाकै रहेको बताइएको बीबीसी सम्वाददाता विमला चौधरीले जनाएकी छन्।योसँगै नेपालगञ्जमा सङ्क्रमितको संख्या २४ पुगेको छ।

बाँकेमा बुधवारको १०२ र बिहीवारको १४८ वटा नमूनामध्ये १३० वटाको रिपोर्ट आएको डा. थापाले बताए।थापाले आजै अन्य छ जनाको परीक्षणको रिपोर्ट आउने बताए।

नेपालगञ्जमा सङ्क्रमितको सम्पर्कमा रहेका सबै व्यक्तिको अझै स्वाब सङ्कलन हुन सकेको छैन। उनीहरूको खोजी गर्दै स्वाब लिने काम भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।