तपाईं हामीले पूरै तलब भत्ता खाने, तर जनता भोकै मर्ने, कम्युनिस्ट सरकार यस्तै हो ?– भट्टराई

प्रतिपक्षी दल समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सांसदहरूले पूरै तलब भत्ता खाने तर जनता भोकै मर्नुपर्ने अवस्था आउनु दु:खद् भएको बताएका छन् ।शुक्रवारबाट शुरू भएको प्रतिनिधि सभाको छैठौं अधिवेशनमा बोल्दै डाक्टर भट्टराईले मजदूरलाई राहत दिने कुनै कार्यक्रम नरहेको भन्दै सरकारको आलोचना गरे ।

‘हामी लकडाउनका बेलामा घरमै बस्यौं तर पूरै तलब पाउँछौ,’ उनले प्रश्न गरे, ‘तर जनता, श्रमिक चाहिँ भोकै बस्नुपर्ने ? लाज लाग्दैन ?’डाक्टर भट्टराईले थपे – ‘यस्तो व्यवस्थालाई पनि कम्युनिस्ट, समाजवादी र लोकतान्त्रिक भन्न मिल्छ ?’

उनले धनी देशमा सरकार आफैंले श्रमिकको तलब भत्ता दिएको भन्दै नेपाल सरकारले व्यवसायीसँग साझेदारी गरेर भएपनि ५० प्रतिशतका आधारमा श्रमिकलाई तलब दिनुपर्ने बताए ।

‘श्रमिकलाई सम्बन्धित ठाउँमै व्यवस्थापन गर्न सक्नुपर्थ्यो, नभए घर पुर्‍याइदिनुपर्थ्यो,’ उनले भने, ‘यही बेलामा सामाजिक सुरक्षाको व्यवस्था गर्न सक्नुपर्दथ्यो, तर सरकारले त्यो गर्न सकेन ।’

डाक्टर भट्टराईले बैंक खाता खोलेर बैंकमार्फत् सरकारले श्रमिकहरूलाई पैसा पठाउन सक्ने थियो भन्दै त्यो पनि नगरेको आरोप लगाए ।‘त्यतापट्टि पनि हाम्रो ध्यान गएको छैन,’ उनले भने, ‘श्रमिकहरूले ज्याला पाएका छैनन् । सरकारले तिमीहरू आफैंले गर भनेको छ । थुप्रै स्थायी श्रमिकहरू छन्, ती पनि भोकै मर्नुपर्ने अवस्था आउन सक्छ ।’समाजवादी र राजपाबीच एकताको सहमति भई जनता समाजवादी पार्टी गठन भइसकेपनि संसद्मा भने दुवै दलको अस्तित्व देखिएको थियो ।