सुनसरीबाट काठमाडौं हिँडेका ११ पाकिस्तानीलाई सिन्धुलीबाट फर्काइयो

काठमाडौं । काठमाडौं हिँडेका ११ पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको छ । सुनसरीबाट बीपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडौँ जाँदै गरेका ती पाकिस्तानी नागरिकलाई काभ्रेको सीमावर्ती नेपालथोकबाट प्रहरीले फर्काएको हो ।

सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेका र कोरोना नेगेटिभ रहेको, साथै पीसीआर लगायतका सबै जाँच भएको, स्वास्थ्य जाँचको प्रमाणपत्र र सवारी पास भएपछि भिमान चेकपोष्टबाट बा। ४ ख ५०६४ नम्बरको माइक्रोबसलाई काठमाडौँ जान दिइएको थियो ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेको समन्वयमा उक्त माइक्रोबसलाई सिन्धुलीबाट छाडिए पनि बीपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिकाबाट उक्त माइक्रोबसलाई भने सुनसरी नै फिर्ता पठाइएको छ । सुनसरीबाट काठमाडौँ हिँडेका पाकिस्तानी नागरिकलाई सोही माइक्रोबसबाटै सुनसरी नै फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।