‘सेना लागौं लिपुलेकतिर, जनता लागौं बाँझो खेततिर’

काठमाडौ । नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएपछि जनस्तरमा सरकारको व्यापक विरोध भएको छ । उत्तराखण्डको पिथौराकोटबाट कैलाश मानसरोवरसम्म करिब ९० किलोमिटर सडक बनाउँदा अहिले नेपालमा विरोधका आवाजहरु उठिरहेका छन् । यहि क्रममा धेरै कलाकारहरुले समेत आफ्नो धारणा व्यक्त गर्न थालेका छन् ।

यहि क्रममा लोक गायक बद्री पंगेनीले आफ्नो ट्विटरमा यहि विषयमा केन्द्रित भएर केहि शब्द लेखेका छन् जसको अहिले सामाजिक संजालमा चर्चा चलिरहेको छ । बद्रीले न नेपाल सरकारलाई कुनै गुनासो पोखेका छन् न भारतको विरोध नै गरेका छन् बरु मिठो तरिकाले उल्लेख गरेका छन् कि अहिले सेना लिपुलेक तर्फ जानुपर्छ आफ्नो भूमि रक्षा गर्न भने जनताहरु सडक र सामाजिक संजालमा विरोधमा उत्रिनु भन्दा बाँझो खेत तर्फ लागे देशको विकाश हुने भान प्रकट गरेका छन् ।

बद्रीले लेखेका छन्, “सेना लागौं, लिपुलेकतिर जनता लागौं,बाँझो खेततिर” ।बद्री पंगेनी अहिले लकडाउनको बेला ट्विटर एकाउण्ट खोलेर सक्रिय भएका छन् । अहिलेको सामाजिक चर्चाको विषय देखि राजनीतिक विषयमा आफ्नो कुराहरु राख्दै आएका छन् भने आफ्नो गित संगीतहरुको बारेमा समेत दर्शकहरुलाई जानकारी दिइरहेका हुन्छन् । लकडाउनका कारण देश विदेशमा हुने कार्यक्रमको व्यस्तताबाट फुर्सद पाएकोले परिवार र दर्शकसंग अन्तरक्रिया गर्दै समय बिताएको बद्रीले उल्लेख गरेका छन् ।