चीनले भन्यो- विश्वको सर्वोच्च शिखर एभरेष्ट चीनको तिब्बतमा पर्छ

काठमाडौं, २८ वैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो आफ्नो भन्दै चीनले प्रचार गरेको छ । उसले सगरमाथाको तस्बिरहरु राखेर सगरमाथा चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको भन्दै प्रचारप्रसार गरेको हो ।२ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सुर्यको दृश्य भनी तस्बिर राखेको छ ।

जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको छ ।चाइना ग्लोबल टेलिभिजन नेटवर्क चीन सरकारको आधिकारिक टेलिभिजन हो । यो विश्व परिवेशमा चीनको आधिकारिक धारणा र समाचार प्रसारण र प्रकाशन गर्छ । उक्त टेलिभिजनमा सगरमाथा चीनमा पर्छ भनी उल्लेख गर्नुले गम्भीर प्रश्न उठाएको छ । चीनमा सगरमाथालाई कोमोलोङमा भन्ने गरिन्छ ।सगरमाथाको चुचुरो नेपालमा पर्छ र यसलाई विश्वले पनि स्वीकार्दै आएको छ ।

तर, चीनले पछिल्लो समय विश्वको सर्वोच्च शिखर सगरमाथालाई कोमोलोङमा भन्दै आफ्नो देशमा पर्ने प्रचार गर्न थालेको छ । चीनले सगरमाथाको उचाई आफ्नो तर्फबाट नाप्न थालेको छ ।विश्वस्त स्रोतका अनुसार चिनियाँ पक्षले नेपाली पक्षसँग संयुक्त रुपमा सगरमाथाको उचाई नाप्द दबाब दिने गरेको छ । तर, नेपालले आफ्नै खर्चमा आफै नापिरहेको छ । चिनियाँ पक्षले सगरमाथालाई साझा देखाउने र यसको चुचुरोमा आफ्नो पनि अधिकार रहेको प्रमाणित गर्ने क्रियाकलाप गरिरहेको छ ।