लगातार परेको भीषण वर्षा र हावाहुरीले क्वारेन्टिन उडायो

झिमरुक, २८ वैशाख : गए राति हावाहुरी सहित परेको पानीले प्युठान नगरपालिका वडा नं ४ विजुवार गणतान्त्रिक खेल मैदानमा निर्माण गरिएको क्वा’रेन्टिन उडाएको छ । रातको करिब २ बजे मस्त निद्रामा भएका समयमा पानी परे पछि क्वारेन्टिन उडाएको थियो । लगातार परेको भीषण वर्षा र हावाहुरीको कारण मध्यरात पछि उनीहरु सुत्नै पाएका छैनन् ।

प्युठान २ सिद्धार्थ सामुदायिक संस्थाको क्वारेन्टिनमा १५ दिन देखि बस्दै आएका आएका पाँच जनाको आरडिटी गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएपछि तिनलाई गणतान्त्रिक खेल मैदानको क्वारेन्टिनमा राखिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले बताउनुभयो । उनीहरुलाई तत्काल सुरक्षित ठाउँको ब्यवस्थापन गरिने जनाइएको छ । हावाले क्वारेन्टिनका केही संरचना उडाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

जोखिममा रहेकाको पिसिआर परीक्षण : जिल्लामा जोखिममा रहेकाहरुको पिसिआर परीक्षणका लागि स्वाब पठाइएको छ। प्युठान नगरपालिका बाट ११ र गौमुखी गाउँपालिकाबाट २८ गरी ३९ जनाको शनिबार स्वाब संकलन गरी आज प्रदेश जन स्वास्थ्य प्रयोग शाखा भैरहवा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । शनिबार प्युठान –२ दाखाक्वाडीका दुई व्यक्तिमा आरडिटी नतिजा पोजेटिभ देखिए पछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बहराइनबाट आएका एक, कतारबाट आएका चार र भारतबाट आएका तथा उच्च जोखिममा रहेका २३ सहित गौमुखी गाउँपालिकाबाट २८ र प्युठान नगरपालिकाका ११ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको प्रमुख सुवेदी ले जानकारी दिनुभयो । जिल्लाभर क्वारेन्टिनमा रहेका र अन्य जोखिमपूर्ण ठाउँबाट आएका भए स्वाव टेष्ट गराइने सुवेदीको भनाइ छ ।(रासस)