आँगनको तरकारीले बजार पाएन, भारतबाट १४ करोडको आयात

२८ वैशाख, विराटनगर । कटहरी गाउँपालिका ४ का कृषक शिवनाथ सिंहले पाँच बिघा जमिनमा तरकारी खेती गरेका छन् । खेतीका लागि उनले बैङ्कबाट ऋण पनि लिएका छन् । शिवनाथको खेतसँगै नरेशकुमार सिंहले ६ बिघा जग्गामा तरकारी खेती गरेका छन् । विराटनगरसँगै जोडिएको गाउँपालिका कटहरीमा शिव र नरेशजस्तै सयौं कृषकको दैनिकी तरकारी खेतीबाट चल्दै आएको छ ।

तर कोरोना महामारी नियन्त्रणका लागि आह्वान गरिएको लकडाउनले कटहरीको तरकारी विराटनगरसम्म आउन पाएन । जसका कारण कृषकले उब्जाएको तरकारी बारीमा कुहिए । तर लकडाउनकै अवधिमा विराटनगरका लागि भारतबाट करोडौंको तरकारी आयात भएको छ ।

कटहरीका कृषकले उत्पादन गरेको टमाटर, बन्दा कोभी, मुलालगायत तरकारी बारीमै कुहिँदा भारतबाट १४ करोड मूल्य बराबरको तरकारी तथा फलफूल आयात भएको हो ।

भन्सार कार्यालय विराटनगरका अनुसार चैत ११ देखि २३ वैशाखसम्म विराटनगरको रानी नाकाबाट १३ करोड ५३ लाख १३ हजार रुपैयाँ बराबरको सागसब्जी भित्रिएको छ ।

खुला सीमा भएका कारण लुकीछिपी भित्रिनेको तथ्यांक स्थानीय प्रशासनसँग छैन । भारतबाट २३ वैशाखसम्म ५ करोड ३९ लाख ९४ हजार बराबरको हरियो तरकारी आयात भएको छ । हरियो तरकारीहरुमा परवल, भिन्डी, करेला, खोर्सानी कोभीलगायत छन् । ४ करोड ६३ लाख २१ हजार बराबरको आलु मात्र आयात भएको छ । २ करोड ७३ लाख ५८ हजार मूल्य बरावरको प्याज आयात भएको छ ।

भारतबाट आउने सामग्री विषादीको परीक्षणपछि मात्र नेपाल प्रवेश गर्न पाउने विराटनगर भन्सार कार्यालय प्रमुख शिव भण्डारी बताउँछन् । विर्तामोडमा रहेको प्रयोगशालाबाट विषादी रहितको रिपोर्ट ल्याएर तरकारी तथा फलफूल भित्रिने गरेको उनले बताए ।

‘हाम्रो तरकारीले बजार पाएन,’ नरेशकुमार भन्छन्, ‘खेती गर्न ऋण लिएको थिएँ । तरकारी नै नबिकेपछि कसरी तिर्नु ?’ नरेशले उत्पादन गरेको तरकारी धरानसम्म पुग्थ्यो । तर लकडाउनले उनको तरकारीले बजार पाएन ।

बैंकबाट ऋण लिएर तरकारी खेती गरेका शिवनाथ सिंह पनि खेतबारीमै तरकारी कुहिँदा तनावमा छन् । ‘वर्षामा बाढीले तरकारी बिगार्छ, अहिले लकडाउनले बारीमा कुहियो,’ उनले भने, ‘बैंकको किस्ता तिर्ने तरकारी बारीमै कुहिए ।’

शिवनारायण सरकारले कृषकले उत्पादन गरेको तरकारी किनेर राहत वितरण गर्नुपर्ने बताउँछन् । ‘हाम्रो तरकारीले बजार पाएन, सरकारले सस्तोमा खरिद गरेर राहत वितरण गरेको भए सबैलाई राहत हुने थियो,’ उनी भन्छन्, ‘बारीमा कुहिनु भन्दा सरकारले राहत बाँडिदिए राम्रो हुन्थ्यो ।’ अन्य राहत सामाग्री सँगै सरकारले तरकारी पनि राहतमा वितरण गर्नुपर्ने उनको भनाइ छ ।

बेइमान बिचौलिया, आँगन छाडेर विदेशी उत्पादन ताक्ने : विराटनगर र कटहरीको दुरी पाँच किलोमिटर पनि छैन । गाँउसम्मै कालोपत्रे भएका कारण तरकारी ढुवानीमा पनि समस्या हुँदैन । तर विराटनगरका ठूला बिचौलिया कटहरी जान मान्दैनन् ।

गाउँका तरकारी बजार नपाएर कुहिरहँदा ठूला व्यापारीले भारतबाट तरकारी आयात गरेर महँगोमा बिक्री गरिरहेका छन । कटहरीका कृषक पाँच रुपैयाँ किलो टमाटर बेच्न तयार छन् । तर बिचौलियाले विराटनगरमा २० रुपैयाँमाथि टमाटार बिक्री गर्छन् ।

‘स्थानीय बजारको सामाग्री ल्याउँदा मूल्य राज्यको नियन्त्रणमा रहन्छ,’ उपभोक्ता अधिकारको क्षेत्रमा अभियान चलाउँदै आएका उत्तम ढुंगेल भन्छन्, ‘विदेशबाट आयात गर्दा बिचौलियाले मूल्यमा मनोमानी गर्न पाउँछन् ।’

मनोमानी गर्न पल्किएका व्यापारीले आगनमा रहेको तरकारी कुहिँदा आयातका लागि भारत कुद्ने गरेको उनको गुनासो छ । ‘कृषक र उपभोक्ताको बीचमा बिचौलिया धेरै हाबी भए,’ उनी भन्छन्, ‘ बिचौलियाले मनोमाी गर्दा कृषक र उपभोक्ता नै मारमा छन् ।’

कृषकले उत्पादन गरेको तरकारी विक्री नभएपछि जिल्ला सहकारी संघ मोरङको पहलमा तरकारी तथा फलफूल थोक विक्री केन्द्र विराटनगर मार्फत विक्री गर्ने व्यावस्था मिलाएको छ । प्रदेश सरकारको समन्वयमा व्यवस्था मिलाइएपनि विक्री पर्याप्त भएको छैन ।

फलफूल आयात पनि उस्तै : लकडाउन अवधिमा विराटनगर रानी नाकाबाट २६ करोड मूल्य बराबरको फलफूल आयात भएको छ ।लकडाउन अवधिमा २३ करोड ४० हजारको स्याउ आयात भएको छ । ७७ लाख ८८ हजारको कागती तथा अमिलो फलफूल अयात भएको छ । खाद्यान्न र दलहनको आयात पनि प्रशस्त मात्रमा भइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । १६ करोडको दलहन आयात भइरहँदा ६३ करोडको खाद्यान्न आयात भएको छ ।