जेठ पाँच गतेसम्म कपिलवस्तु पूर्ण रुपमा बन्द

कपिलवस्तु, २९ वैशाख। कपिलवस्तु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि कपिलवस्तु प्रशासनले सोमबार साँझ ५ बजेदेखि कपिलवस्तु जिल्लालाई पूर्ण रुपमा बन्द गरेको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जरुरी सूचना प्रकाशित गर्दै जेठ पाँच गतेसम्म जिल्लालाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको जनाएको हो।

कपिलवस्तुमा आज मात्रै १६ जनामा कोरोना सक्रमण पुष्टि भएको छ। प्रशासनको निर्णयअनुसार अत्यावश्यकबाहेक सेवाका सवारीसाधन जिल्लामा चल्न पाउने छैनन्।

मानिसको आवतजावत, उद्योगधन्दा, निर्माणको काम तथा व्यापार व्यवसायमा पनि रोक लगाइएको छ। खाद्यान्न र तरकारी किन्नका लागि बिहान सातदेखि नौ बजेसम्मको समय दिइएको छ। सरकारले जारी गरेको बन्दाबन्दी पनि जेठ ५ गते सकिँदैछ।