गुडिरहेको वडाध्यक्षको बाइकमा आगो लाग्यो

दाङमा गुडिरहेको एक मोटरसाइकलमा आगो लागेको छ।सडकमा गुडिरहेको रा १ ब ७२५ नम्वरको सरकारी मोटरसाइकलमा एक्कासी आगो लागेको हो । दंगिशरण गाउँपालिका वडा नं. ५ का वडा सचिव प्रेमप्रकाश चौधरीले चलाइरहेको समयमा बुधवार बेलुकी बाइकमा एक्कासी आगो लागेको चौधरीले जानकारी दिएका छन् ।उक्त मोटरसाईकल वडाध्यक्ष दिपक गौतमले प्रयोग गदै आएका थिए ।

बुधवार बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित भ्याली पेट्रोलपम्म दोघरेमा पेट्रोल भरेर फर्किदै गर्दा त्यसको नजिकै एकाएक मोटरसाइकलमा आगलागी भएको वडा सचिव चौधरीले बताए।

‘वडाध्यक्षज्यूको आदेशले म पेट्रोल पम्पमा इन्धन भर्न गएको थिए। एक हजारको तेल भरेर दुई मिटर पर पुग्नासाथ मलाई खुट्टामा पोलेको अनुभूति भयो’, चौधरीले भने ‘यसो दाहिने खुट्टामा हेरेको त ट्याङ्की मुनी आगो बलिरहेको रहेछ।’

त्यसपछि आफुले हत्तनपत्त बाइकको इन्जिन बन्द गरी स्ट्याण्ड लगाएर भागेर ज्यान जोगाउन सफल भएको चौधरीले बताए ।आगलागी पेट्रोल पम्पको कम्पाउन्डमै भएको हुँदा ५ मिनेट भित्रै दमकल आएपनि बाइक भने जोगाउन नसकिएको चौधरीले बताएका छन् ।

‘पेट्रोल पम्पको कम्पाउन्ड भित्रै बाइकमा आगो लागेपछि ठूलो तनाव भएको थियो,’ चौधरीले भने ‘तर समयमै दमकल आएको हुँदा थप क्षति हुन पाएन।’आगलागीवाट मोटरसाइकल भने पूर्ण रुपमा जलेर नष्ट भएको छ।