पशुपतिका शिवलिंग घरभित्र

काठमाडौं : पशुपति मन्दिरको पश्चिम ढोकाबाट अन्नपूर्ण भण्डारतिर आउँदा बाटोमा एउटा घर छ। लामो कालखण्ड पार हुँदै जाँदा त्यही घरभित्र थुनिन पुगेको छ– पशुपति मन्दिरको ऐतिहासिक शिवलिंग।

थुनिएको शिवलिंग यति महŒवशाली हो, जहाँ पशुपति मन्दिरका मूलभट्टले गर्भगृहमा प्रवेश गर्नुअघि शपथ लिनुपर्छ। पशुपति क्षेत्रमा यस्ता ११ शिवलिंग छन्। जसलाई एकादशरुद्र भनिन्छ। शिवका पुजारीले ती एकादशरुद्रलाई साक्षी नराखेसम्म मन्दिरको गर्भगृहमा प्रवेश गर्न पाउँदैनन्।

तिनै एकादशरुद्रमध्ये कम्तीमा दुइटा शिवलिंग व्यक्तिका घरभित्र थुनिएका छन्। अर्को रुद्र भुवनेश्वरी टोलस्थित अर्को घरभित्र थुनिएको पाइएको छ। पशुपतिको मूल मन्दिरदेखि करिब पाँच सय मिटर दूरीमा रहेको उक्त घरमा बेवास्तापूर्ण ढंगले थुनिएको छ मूलभट्टलाई शपथ खुवाउने शिवलिंग।

वर्षौं पहिला काठमाडौंमा घना आवास थिएन। पशुपति आसपास त झन् बस्ती नै थिएन। त्यतिबेला पशुपतिका मूलभट्टले मन पराएका वा सहयोग पु¥याएका व्यक्तिलाई जहाँ बस्न दियो, घर बनाउन मिल्ने चलन थियो। त्यसरी नै धेरै घर बने। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा ती दुवै रुद्र यसरी नै घरभित्र परेको हुन सक्ने अनुमान गर्छन्।

‘कुनै समय पशुपति मन्दिरको मूलभट्टले जहाँ बस्न दिन्छन्, त्यहीँ बस्ने प्रचलन थियो। त्यसैले उहाँहरू यसरी नै बस्नु भएको होला। तर उहाँहरूले शिवलिंगको ठाउँलाई नछोडिकन घर बनाउनु भएछ’, उनले भने, ‘त्यो जमिन पशुपतिले अधिग्रहण गर्न चाहेको छ। पुरातात्विक महŒवका ती शिवलिंग सर्वसाधारणको दर्शनमा राख्ने हाम्रो चाहना हो।’

कोषले २०५९÷६० तिर पशुपति क्षेत्रमा सबैका घरजग्गालाई अधिग्रहण गर्ने कोसिस गरेको थियो। तर, केही व्यक्ति समाजका प्रभावशाली भएका कारण त्यतिबेला पूरै घरजग्जा अधिग्रहण गर्न सकेन। ‘शक्तिको आडमा बसेका केही व्यक्तिको घरमा महŒवपूर्ण पुरातात्विक महŒवका वस्तुहरू छन्, त्यसलाई अधिग्रहण गर्नु कोषको चुनौती हो’, कोषका एक सदस्यले भने।

उक्त क्षेत्रमै घर रहेका नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नजिकको घरमा एउटा रुद्र रहेको पुष्टि गरे। ‘मेरो घरभित्र पनि एउटा निकै पुरानो मूर्ति परेको छ’, उनले भने, ‘तर त्यो यति महŒवपूर्ण होइन।’

शिवलिंग शौचालय छेउमा

मूलभट्टले शपथ लिने यी शिवलिंग पशुपति क्षेत्रकै विशेष मानिन्छन्। विशेष पुरातात्विक महŒवको यो शिवलिंग भुवनेश्वरी टोलमा व्यक्तिको घरभित्र शौचालय छेउ परेको राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमा उल्लेख छ।

समितिले पशुपति क्षेत्रको विस्तृत अध्ययन गर्ने क्रममा यस्तो दृश्य फेला पारेको हो। यी र यस्ता बेथितिलाई देखाएर उसले प्रतिवेदन नै तयार पारेको छ। पशुपति क्षेत्रका धेरै शिवलिंग तथा मूर्तिहरू व्यक्तिगत घरभित्र परेको कोषका पूर्वसदस्यसचिव तथा संस्कृतिविद् गोविन्द टण्डनले बताए। ‘केही शिवलिंग व्यक्तिको घरभित्र परेकाले मूलभट्टले शपथ लिँदा घरधनीले ढोका खोलिदिने गर्छन्। त्यसपछि मात्र मूलभट्ट दर्शन गर्न जान्छन्’, टण्डनले अन्नपूर्णसँग भने।

एकदमै महŒवपूर्ण मूर्तिहरूसमेत व्यक्तिको घरमा परेको टण्डनले जानकारी दिए। ‘देवपत्तन क्षेत्रमा धेरै शिवलिंग तथा मूर्तिहरू थिए, यो क्षेत्रमा घर बनाउँदा मानिसहरूमा पुरातात्विक जानकारी थिएन। त्यसैले उनीहरूको घरभित्र शिवलिंग तथा मूर्तिहरू परे’, उनले भने, ‘त्यही कारण अहिले पशुपतिका पुजारीलाई महŒवपूर्ण पूजा गर्न मानिसको घरभित्र जानुपर्छ।’

बेथितिको चाङ

मानिसहरूले पशुपति विकास कोषको जमिन एक मुरी धानको भरमा उपभोग गर्दै आएको सांसद जीवन बुढाले बताए। ‘पशुपतिमा १ सय ९० भन्दा भढी साना गुठी रहेछन्, ती गुठीले प्रयोग गर्ने जग्गा कसको हो भनेर विवाद रहेछ’, उनले भने, ‘पशुपति विकास कोषले यस्ता मामलामा स्पष्ट गुरुयोजना बनाएको देखिएन।’

त्यस्तै समितिको प्रतिवेदनले पनि पशुपति मन्दिरभित्र बेथितिको चाङलाई प्रष्टसँग देखाएको छ। लामो समयदेखि भवन र जग्गाको भाडा समयानुकूल नबढेको समेत प्रतिवेदनमा उल्लेख छ। ‘पशुपति क्षेत्रभित्रका व्यक्तिगत तथा व्यावसायिक भवनहरू र जग्गाको भाडा समयानुकूल वृद्धि गर्न मिल्ने गरी तत्काल कानुन परिमार्जन गर्नुपर्छ’, समितिको प्रतिवेदनमा भनिएको छ।

पशुपति क्षेत्रमा पुरातात्विक अस्तित्व नै संकटमा पर्ने गरी आधुनिक संरचनाहरू निर्माण भइरहेको समेत प्रतिवेदनमा उल्लेख छ। ‘पशुपति क्षेत्रको पर्यादा प्रतिकूल हुने गरी र प्रतिशोध प्रदर्शन गरी विभिन्न संरचना तथा स्मारकहरू निर्माण गर्न दिइएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘अव्यवस्थित सहरीकरण र समन्वयको अभावले घरहरूमा च्यापिएको दुर्लभ त्रिविक्रमको मन्दिर वास्तविक स्वरूपमा पुनर्निर्माण हुन सकेको छैन।’

त्यस्तै ताम्रेश्वरलगायतका मन्दिर अतिक्रमण भइसकेका र मूर्तिहरू हराइरहेको तथा पशुपति विकास कोषले तीर्थयात्रीलाई उचित सुविधा प्रदान गर्न नसकेको समेत प्रतिवेदनमा उल्लेख छ।

अस्तव्यस्त अथाह सम्पत्ति

पशुपतिको मूल ढुकुटीमा विस २०१९ अगाडिको सम्पत्ति कति छ भन्ने कोषलाई समेत जानकारी नरहेको संसदीय समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदनअनुसार पशुपतिको ढुकुटीमा जिन्सीतर्फ १८ हजार रोपनी जग्गा, एक हजार ३२५ किलो चाँदी र ५४ किलो सुन छ। त्यस्तै पशुपति क्षेत्र विकास कोषका संरचना तथा जग्गाहरू अव्यवस्थित तरिकाले भाडामा लगाएको पाइएको छ।

पशुपतिले २०७०÷०७१ देखि नेपाल सरकारबाट राष्ट्रिय गौरवका आयोजनाकै दाँजोमा वार्षिक रूपमा अनुदानसमेत लिँदै आएको छ। अर्कोतर्फ गैरहिन्दू पर्यटकबाट प्रवेश शुल्कबापत प्रतिव्यक्ति एक हजार नेपाली रुपैयाँ लिने गरेको छ। आर्थिक वर्ष २०७५÷०७६ मा पशुपति क्षेत्र विकास कोषले प्रवेश शुल्कबाट १७ करोड आम्दानी गरेको समितिको प्रतिवेदनमा उल्लेख छ।

समितिको छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पशुपतिको सबै सम्पत्ति रक्षा गर्ने काम सरकारकै रहेको बताइन्। ‘पशुपतिका सबै जग्गा तथा सम्पत्ति गुठीका हुन्, गुठीका सबै जग्गा सम्पत्ति राज्यले पनि हस्तक्षेप गर्न सकेको छैन’, उनले भनिन्, ‘धर्म संस्कृतिको रक्षा गर्ने, गुठीमा जोडिएका जग्गाको रक्षा गर्ने काम हाम्रो नै हो। त्यसैले हामीले कोसिस गरिरहेका छौं।’