कालापानी क्षेत्रबाट भारतीय सेनालाई विदाई गरेपछि त्रिदेशीय विन्दु निर्धारण गर्नुपर्छः राजदूत पाण्डे

काठमाडौं : कोरोना भाइरस महामारीका कारण चीनका लागि नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डे तीन महिनादेखि जिम्मेवारी सम्हाल्न बेइजिङ जान पाएका छैनन्। काठमडौंमै रहेर अहिले नेपाल–चीन सम्बन्धका विभिन्न आयामबारे अध्ययन गरिरका पाण्डेले नेपालखबरसँगको अन्तर्वार्तामा भनेका छन् : परराष्ट्र सम्बन्धको ठूलो हिस्सा भारत र चीनले ओगटेपनि हाम्रो सम्बन्ध यी दुई मुलुकमा मात्र केन्द्रित हुनु हुन्न।

सबैसँग समान रुपमा जानुपर्छ। गाह्रो अफ्ठ्यारोमा अन्य देशले पनि सघाउने ढंगले अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्नुपर्छ। भारत र नेपालको बीचमा समस्या छन्। कालापानी–लिम्पियाधुरामा वि’वाद छ भन्छन् मान्छेहरु। नेपालका तर्फबाट कुनै पनि विवाद छैन । आफ्नो जमिनको विवाद गर्नुपर्ने जरुरी नै छैन। कुनैबेला कुनै कारणले भारतको सेना त्यहाँ आएर बस्यो। तर, अहिले विश्व परिवेश परिवर्तन भएको छ।

भारतले कालापानीमा सेना राखेर राज्यको सुरक्षा गर्नुपर्ने अवस्था पनि छैन। एउटा समयमा उहाँहरु आउनुभयो, हाम्रो जमिनमा बस्नु भयो । अहिले उहाँहरुलाई छाडेर जानुहोस् भनेपछि उहाँहरुले वि’वादित भन्न थाल्नु भएको होला। तर त्यो जमिन हाम्रो हो, यसमा वि’वाद छैन। हामी भन्दा धेरै ठूलो जमिन भएको मुलुक हो भारत। साथीभाइहरु रोटीबेटी भनेर जोडेको जोड्यै गर्छन्।

हाम्रो रोटीबेटीको सम्बन्ध भारतसँग मात्रै होइन, संसारभर जोडिएको छ। भारतसँग संस्कार, संस्कृतिसहित धेरै कुरा साझा छन्। त्यसैले भारतले हाम्रो भूभागबाट सेनालाई हटाउने र अहिलेसम्म बस्न दिएकोमा नेपाललाई धन्यवाद दिनुपर्छ। हामी क्षतिपूर्ति पनि खोज्दैनौँ । हाम्रो जमिनको क्षतिपूर्ति देऊ भन्दैनौँ। उहाँहरुले हामीलाई धन्यवाद दिए, हामी पनि धन्यवाद भन्छौं।

जहाँसम्म त्रिदेशीय विन्दुको कुरा छ, पहिलो जननिर्वाचित प्रधानमन्त्री चीन जाँदा त्यहाँका अध्यक्ष र प्रधान मन्त्रीसँग भेटेर कुराकानी गरेर, सीमा निर्धारण गर्ने कुरा भयो । उहाँहरुले एक प्रकारको समझदारी बनाएर आउनु भयो। त्यसैको आधारमा रेखांकन गर्ने काम भयो। तत्कालीन नेपालका राष्ट्रप्रमुख जाँदा त्यसमा सहमति भयो। अहिलेसम्म सोही सहमतिका आधारमा चलेको अवस्था छ।

संसारभर भएको अभ्यास के हो भने सीमा स्तम्भ राख्दा शून्यबाट सुरु गरेर, एक, दुई, तीन, गर्दै राखिन्छ। तर नेपाल–चीन सीमा निर्धारण गर्दा पश्चिमबाट पूर्वतर्फ स्तम्भ राख्दा शून्यबाट नभई एकबाट भएको छ। अहिले नम्बर एकबाट पश्चिमतर्फ शून्य राख्ने स्थान छ। त्यस समयमा चीन र भारतबीचमा भएको लडाइँ र तनावको कारणले केही स्थानमा सीमांकन पछि गर्ने भनिएको थियो।

यो त्रिदेशीय विन्दु निर्धारण गर्न हामीले खुला हृदय लिएर काम गर्नुपर्छ। त्यसका लागि पहिले हाम्रो अतिक्रमित भूभागबाट मित्रराष्ट्रका सेनालाई सम्मान पूर्वक विदाइ गर्नुपर्छ। त्यसपछि उत्तरसँग पनि बाँकी रहेको सीमांकन गर्ने। तीनै देश मिलेर त्रिदेशीय विन्दु निर्धारण गर्ने र सधैँभरीका लागि मित्रवत् ढंगमा रहने।

अहिले यो एसियाको शताब्दी हो भन्ने गरिएको छ। तर, एसियाको शताब्दी बनाउने र संसारको आकर्षण बढाउने हो भने त्यो गर्ने हामीले नै हो। मान्छेहरुले नेपाललाई त्यसै ‘हार्ट अफ एसिया’ भनेका होइनन्। त्यस अनुसार हामीले बुद्धि, विवेक र क्षमता विकास गर्नुपर्छ।