पार्टी एकताको माग गर्दै ‘सत्याग्रह’

काठमाडौँ, असार १९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रियालाई जोगाउन माग गर्दै नेकपाका केन्द्रीय सदस्यहरूले पार्टी मुख्यालय धुम्बाराहीमा सत्याग्रह शुरु गरेका छन् । शुक्रबार दिउँसो १ बजेबाट शुरु भएको सत्याग्रह ४ बजे सम्पन्न भएको छ । “पार्टी नीतिअनुसार चल्नुपर्छ नेतृत्वबाट होइन, पार्टीको सामूहिक निर्णयअनुसार अगाडि बढ्नुपर्छ, पार्टीको एकतालाई थप सुदृढ बनाउनुपर्छ” मुख्य माग राख्दै केन्द्रीय सदस्यहरूले सत्याग्रह शुरु गरेको बताउनुभएको छ ।

केन्द्रीय सदस्य प्रेमलकुमार खनालकाअनुसार बैठक शुक्रबारबाट शुरु भएको र दुई अध्यक्ष नमिल्दासम्म नियमित जारी रहने बताउनुभयो । शुक्रबारको सत्याग्रहमा केन्द्रीय सदस्यहरू प्रेमलकुमार खनाल, ठाकुर गैरे, रामकुमारी झाँक्री, जनक खतिवडा, रविन कोइराला, हिमाल शर्मा, दिलकुमारी पन्तलगायत नेताहरूको सहभागिता रहेको केन्द्रीय सदस्य खनालले बताउनुभयो ।

भोलि पुनः दिउँसो २ बजेदेखि सत्याग्रह कार्यक्रम जारी रहने उहाँले बताउनुभयो । भोलि शनिबार ११ बजेदेखि स्थायी कमिटी बैठक पनि आह्वान गरिएको छ । यसैबीच दोस्रो पुस्ताका नेताहरूले पनि बैठक बसी नेतृत्वलाई सहमतिका लागि सामूहिक दबाव दिएका छन् । दुई अध्यक्षबीच शुक्रबार बालुवाटारमा भएको वार्ता सकारात्मक भएको बुझिएको छ । थप छलफल गरी निस्कर्षमा पुग्ने कुरा भएको बालुवाटार स्रोतले बताएको छ ।