हेलिकप्टर दुर्घटना हुँदा ९ सैनिकको मृत्यु

मंगलबार कोलम्बियामा भएको एक सैनिक हेलिकप्टर दुर्घटनामा कम्तीमा ९ कोलम्बियाली सैनिकको मृत्यु भएको छ। कोलोम्बियाका फार्क विद्रोही विरूद्धको अभियानमा लगिदैं गर्दा ती सैनिक सवार यूएच-६० ब्ल्याक हक हेलिकप्टर दुर्घटनामा परेको त्यहाँको सेनाले जनाएको छ।

दुर्घटना के कति कारणले भयो भन्ने बारेमा कोलम्बियाली सेनाले अनुसन्धान गरिरहेको रोयटर्सले जनाएको छ। जंगल क्षेत्रमा भएको सो घटनामा अन्य ६ सैनिक घाइते हुनुका साथै दुई जना वेपत्ता छन्।

कोलम्बियामा पछिल्ला वर्षहरूमा हेलिकप्टरहरू खराब मौसम तथा यान्त्रिक कारणले दुर्घटनामा पर्ने गरेका छन्। केही घटनामामात्र फार्क गुरिल्ला तथा आपराधिक समूहको हात रहेको पाइएको छ। हेलिकप्टर दुर्घटना भएको क्षेत्रमा फार्क विद्रोहीहरूको प्रभाव क्षेत्र मानिन्छ।