कोरोनामुक्त हुने दर ७१ प्रतिशत भन्दा बढि

नेपालगञ्ज, भदौ २६ गते । बाँके जिल्लामा पछिल्लो समयमा संक्रमित हुनेको संख्या बढ्दै जाँदा संक्रमणमुक्त हुने दर पनि उच्च रहेको छ । जिल्लामा संक्रमितको निको हुने दर ७१.११ प्रतिशत रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।स्वास्थ्य कार्यालयका अनुसार हालसम्म बाँकेमा एक हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा नौ सय ७० जना संक्रमणमुक्त भै निको भएर घर फर्किसकेका छन् ।

बाँकेका कोराना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले जिल्लामा संक्रमणमुक्त हुनेहरुको प्रतिशत निकै उच्च रहेको जनाउँदै हालसम्म ७१.११ प्रतिशत संक्रमित निको भएर घर पुगिसकेको बताउनुभयो ।उहाँले जिल्लामा प्रकोप दर हेर्ने हो भने ०.२३ प्रतिशत रहेको र मृत्युदर ०.५९ प्रतिशत मात्र रहेको जनाउँदै यो तुलनामा निको हुने दर धेरै उच्च रहेको जानकारी दिनुभयो ।

गत केही दिन यता आएर निको हुने दर निकै बृद्धि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबार पनि जिल्लाका विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट १९ जना कोरोनामुक्त भई घर फर्किएका छन् ।

शुक्रबार १९ जना डिस्चार्ज भएपछि कोरोना जित्नेको संख्या जिल्लामा ९७० पुगेको हो । शुक्रवार भेरी अस्पताल नेपालगञ्जमा कार्यरत एक चिकित्सक र एक नर्स, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत स्वास्थ्यकर्मीसँगै १९ जना निको भएर फर्किएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा हालसम्म एक हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, ति मध्ये आठ जनाको मृत्यु भैसकेको छ । अझैपनि जिल्लाको विभिन्न स्थानमा रहेका आइसोलेसनमा ३९१ जना संक्रमितले स्वास्थ्य लाभ गरिरहेका छन् ।