‘आलु बेचेको सात वर्ष भयो, अहिलेजस्तो महंगो कहिले भएको थिएन’

पछिल्लो समय राजधानीमा तरकारीको राजा मानिने आलुको मूल्य अत्यधिक बढेको छ। गत वर्षको तुलना गर्दा यस वर्ष दोब्बरले आलुको मूल्य बढेको कालिमाटी फलफूल तथा तरकारी बजारको खुद्रा मूल्यको तथ्याङ्कले देखाउँछ। कालिमाटी तरकारी बजारमा औसत खुद्रा मूल्य रातो आलूको प्रतिकिलो ९३ रूपैयाँ, रातो आलु (भारतीय) प्रतिकेजी ५६ रूपैयाँ र मुडेको आलु प्रतिकेजी ७६ रूपैयाँ रहेको छ।

गत वर्ष यही समयमा रातो आलूको औसत मूल्य प्रतिकिलो ४५ रूपैयाँ, रातो आलु (भारतीय) प्रतिकेजी २५ रूपैयाँ र मुडेको आलु प्रतिकेजी ४३ रूपैयाँ रहेको बजारको तथ्यांकले देखाएको छ। के कारणले आलुको मूल्य बढेको हो यकिन कारण भने कुनै निकायले पनि दिन सकेका छैनन्। गत वर्षको तुलनामा अहिले आलुको मूल्य एकदमै बढेको आलु व्यापारीहरू बताउँछन्।

‘आलु बेचेको सात वर्ष भयो, यो वर्ष जस्तो महंगो कहिले भएको थिएन,’ बानियाँटारका व्यापारी सुजाता सापकोटाले भनिन्, ‘के कारणले बढेको हो हामीले पनि बुझ्न सकेका छैनौं।’गत वर्ष यो समयमा आलुको मूल्य बढीमा १ सय ५० देखि ६० सम्म थियो। गत वर्ष पुसमा तुसारो परेकोले आलु उत्पादन हुन नसकेर आलु अभाव भएको हुनसक्ने उनको अनुमान छ।

‘पुसमा तुसारोले गर्दा आलु उत्पादन हुन सकेको थियो। बजारमा आलुको अभाव छ, त्यसैले मूल्य बढेको होला,’ उनले भनिन्।उनका अनुसार अहिले बजारमा मुडेको आलु साइज अनुसार प्रतिकेजी २ सय देखि २ सय ५० रूपैयाँसम्म छ। भारतीय मूल्य १ सय ८० देखि २ सय रूपैयाँसम्म छ।

किसानले उत्पादन गरेको आलु सजिलै बजारसम्म आउन नसकेको र गाउँघरमै खपत भएकोले राजधानीमा आलुको अभाव भई मूल्य बढेको कालिमाटी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्।

‘अहिले आलुको उत्पादन नहुने सिजन होइन। अलिअलि भएका आलु पनि बजार आउन सकेका पनि छैनन्,’ उनले भने, ‘कोरोनाले गर्दा मानिस सबै घर-घर गएका छन्, गाउँमै आलुको खपत बढेको छ।’

स्थानीयस्तरमा आलुको उत्पादन सीमित छ, माग भने बढ्दै गएको छ। भातरतीय आलु नआएको भए अझै दोब्बर मुल्य बढ्ने उनी बताउँछन्। उनका अनुसार अहिले साँखु, पाँचखाल, पनौतीबाट आलु आएको छैन। पालुङ र मुडेबाट मात्र आएको बजारमा आलु आएको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसी अहिले आलुको अफ सिजननै भएको बताउँछन्। बेंसी, पहाड र तराईमा माघ–फागुनमा आलु उत्पादन हुन्छ। अहिले मध्यपहाडमा आलु उत्पादन हुने समय हो। त्यहाँको आलु पनि बन्दाबन्दी र बाटोका कारण पर्याप्त मात्रामा आउन नसकेको उनले बताए।

राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रले दिएको तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा आलुको उत्पादन बढ्दै गएको छ। आव २०७३/०७४ मा २७ लाख ३० हजार मेट्रिक टन आलु उत्पादन भएको थियो। त्यसैगरी २०७४/०७५ मा २८ लाख ८१ हजार मेट्रिक टन आलु उत्पादन भएको छ भने २०७५/०७६ मा ३१ लाख १२ हजार मेट्रिक टन आलु उत्पादन भएको छ।

नेपालको उत्पादनले ९० प्रतिशत माग धान्ने बाली विकास केन्द्रका वरिष्ठ बाली विकास अधिकृत भरत आचार्यले बताए। गत वर्षको तुलनामा आलुको आयात पनि बढेको छ। गत साउनमा भारतबाट मात्रै २ करोड २६ लाख किलो आलु आयात भएको थियो भने अहिलेको साउन महिनामा ३५ लाख ४२ हजार किलो आलु बंगलादेशबाट र २ करोड ५९ लाख ७५ हजार किलो आलु भारतबाट आयात भएको छ।

अफ सिजनको नाममा व्यापारीले बढी मूल्य लिएको उपभोक्ताकर्मीहरूको भनाइ छ। बन्दाबन्दीको नाममा व्यापारीले चर्को मूल्य लिएको उपभोक्ताकर्मी माधव तिमल्सिनाले बताए। ‘अफ सिजनै भए पनि गत वर्षभन्दा दोब्बरले महगो हुँदैन, बजार अनुगमन नभएको हो,’ उनले भने, ‘भारतीय सरकारले प्याजमा प्रतिबन्ध लगाउन भन्ने भन्नेवित्तिक्कै प्याजको मूल्य कहाँ पुगिसक्यो। प्रतिबन्ध लगाएको भोलिपल्टै यसरी प्याजको मूल्य वृद्धि हुन पर्ने हो त?,’ उनले प्रश्न गरे, ‘सरकारले अनुगमन नगरेको हो।’