भारतले नेपाललाई दियो २ हजार भाइल रेमडेसिभिर औषधि

३०, २०७७ काठमाडौं : भारत सरकारले कोभिड-१९ विरुद्ध लड्न नेपाल सरकारलाई २ हजार भाइल रेमडेसिभिर औषधि उपहारस्वरुप प्रदान गरेको छ। भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्‍वात्राले नेपालका माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मंगलबार २ हजार भाइल रेमडेसिभिर औषधि हस्तान्तरण गरेका हुन्।

कोभिड-१९ को विश्‍वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारतले नेपाललाई गरिरहेको सहयोगकै क्रममा औषधि हस्तान्तरण गरिएको हो। यसअघि वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधि, जेष्ठ ४ गते कोभिड-१९ टेष्ट कीट (आरटी-पिसिआर) र साउन २५ गते आइसीयु, भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई दिइसकेको छ।

निकटतम् छिमेकीको हैसियतले यस महामारीविरुद्धको लडाईंमा भारत सरकार नेपाल सरकार र नेपालीको साथमा रहेको छ दूतावासले जनाएको छ। अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीको उपचारमा प्रयोग गरिने रेमडेसिभिर एक प्रभावकारी औषधि मानिन्छ। चिकित्सा अध्ययनका अनुसार यो औषधिको प्रयोगले बिरामीहरुको अस्पताल बसाइ अवधि र रोगबाट निको हुने समयलाई घटाउन भूमिका खेल्छ।