कुलमानले विजुली ल्याएको, उज्यालो गरेको होइन : पूर्व उर्जामन्त्री राधा ज्ञवाली

काठमाडौं । पूर्वएमालेबाट तत्कालिन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा उर्जामन्त्री रहेकी राधा ज्ञवालीले नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङको आलोचना गरेकी छन्।

मन्त्री हुँदा कुलमानलाई आयोजना प्रमुखबाट तानेर जगेडामा राखेर कारवाही गरेकी राधाले योहो टेलिभिजनसँग कुरा गर्दै कुलमान घिसिङले बत्ति बालेको हैन, सिस्टमले हो भनिन्। ‘कुलमानले, विजुली ल्याएको, उज्यालो गरेको भन्ने कुरामा म सहमत छैन,’ उनले भनिन्।

कुलमानले आफूले ल्याएको भनेर लाखौँ खर्च गरेर पत्रकार नै प्रचारमा खटाएको उनको आरोप छ। कुलमानविरुद्ध आयोजनामा छँदा उजुरी आएको आफूले दावी पनि राधाले गरिन्। कुलमानको काम नै जनता उचाल्ने भएको उनको आरोप छ। ज्ञवाली २०७२ असोज १४ गते उर्जामन्त्रीबाट बाहिरिएकी थिइन्।

‘असोज २४ गते केपी ओली प्रधानमन्त्री भएको र लगत्तै भारतीय समकक्षी मोदीसँग वार्ता गरेर मुजफ्फपुरदेखि गोरखपुको लाइनको सूचारु गरेको र अनि विजुली आयो। केपी ओली प्रधानमन्त्री भएपछि विजुली आयो,’ उनले दावी गरिन्।

‘म मन्त्री हुँदा त देश अन्धकारमै थियो,’ उनी भन्छिन्। आफू मन्त्रीबाट निस्केपछि आफूले नियुक्त गरेको पूर्वएमडीले सबै तयारी गरेको र ढल्केबरबाट विजुली आउने भएपछि कुलमानलाई ल्याएर आफूले वत्ती ल्याएको उज्यालो बनाएको भनेर प्रचार गरिएको ज्ञवालीले दावी गरिन।

वत्ती आउनुको पछाडि आफूसहित आफूभन्दा पछाडिका मन्त्रिहरुलाई पनि श्रेय जाने उनको भनाई छ। ‘उहाँ आउने वित्तिकै विजुली आएको कुरामा म सहमत छैन,’ उनी भन्छिन्। उनले कुलमानलाई आफूले जगेडामा नराखेको पनि दावी गरिन।