नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन चाहन्छौं : मोदी

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन चाहेको बताएका छन् । बिहीबार आफ्नो जन्मदिनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको शुभकामना सन्देशको जवाफ दिँदै उनले नेपाल–भारत सम्बन्ध साझा संस्कृति र इतिहासका आधारमा अझ सुदृढ बनाउन चाहेको बताएका हुन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ। प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई जन्मदिनको शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध सुदृढ गर्न आगामी दिनमा दुई देशले मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

दुई देशबीच सीमा विवादका कारण लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध र संवादहीनताको अवस्था भइरहेका बेला भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा गत साउन ३१ गते दुई देशका प्रधानमन्त्रीबीच करिब १० मिनेट टेलिफोन संवाद भएको थियो । उक्त संवादपछि दुई देशबीचको संवादहीनताको अवस्था अन्त्य हुने अपेक्षा गरिएको थियो ।

तथापि स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत दिएको शुभकामनाको धन्यवाद जवाफ र अन्य देशका सरकारप्रमुख तथा राष्ट्रप्रमुखलाई मोदीले दिएको धन्यवाद जवाफमा केही भिन्नता देखिएको थियो । अरूलाई मोदीले दिएको जवाफमा हार्दिकता देखिए पनि प्रधानमन्त्री ओलीलाई दिएको जवाफ औपचारिक मात्र देखिएको थियो ।

कतिपयले मोदीको उक्त जवाफलाई नेपाल–भारत सम्बन्धको पछिल्लो अवस्थासँग जोडेर पनि हेरेका थिए । तर बिहीबारको मोदीको जवाफमा भने उनले दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन खोजेको बताएका छन् ।

यसले लामो समयदेखिको तिक्ततापूर्ण सम्बन्धमा विस्तारै सुधारको संकेत देखिन थालेको बताइन्छ । त्यसो त नेपाल–भारतबीच पछिल्लो समय सीमा विवादका विषयमा छलफलका लागि गठन गरिएको विदेश सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको बैठकको तयारी पनि भइरहेको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ ।

त्यस्तै, नेपाल र भारत सीमा समस्या समाधानका लागि बनेको सीमा कार्यदलको बैठकको पनि तयारी भइरहेको जनाइएको छ । केही समयअघि मात्र नेपाल–भारत संयुक्त निगरानी संयन्त्रको बैठक सम्पन्न भइसकेको छ । यसले दुई देशबीच लामो समयदेखिको तिक्ततापूर्ण सम्बन्ध सामान्य अवस्थामा ल्याउने संकेत देखिएको छ ।