अधिकांश तरकारीको मूल्य प्रतिकिलो १ सय रुपैयाँमाथि

काठमाडौं : करिब ६ महिना देखिको लकडाउनमा सर्वसाधारणको आम्दानी खुम्चेको वेला भान्सा महँगो भएपछि उपभोक्ताहरू दोहोरो मारमा परेका छन् । उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश हरियो तरकारीको मूल्य प्रतिकिलो १ सय रुपैयाँमाथि पुगेको छ । लकडाउन खुकुलो भएर ढुवानी सहज भए पनि मागको तुलनामा आपूर्ति २५ देखि ३० प्रतिशत कम भइरहेको तरकारीको मूल्य वृद्धि भएको व्यवसायीहरू बताउँछन् ।

११ चैतदेखिको निरन्तर लकडाउनले आम्दानी खुम्चेका वेला भान्सा महँगो हुँदा उपभोक्ता मारमा परेका छन् । दैनिक औसतमा ७–८ सय टन तरकारी आउने कालीमाटी फलफूल तथा तरकारी बजारमा निषेधाज्ञायता ५ सयदेखि ५ सय ५० टनसम्म मात्र आपूर्ति भइ रहेको तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए ।

‘अहिले नेपाली किसानले सबै तरकारी उत्पादन घटाएका छन्, आपूर्ति नै करिब २ सय टनका दरले घटेका कारण मूल्यमा चाप परेको हो,’ उनले भने । ललितपुर भैँसे पाटीकी गृहिणी उर्मिला महर्जनले शनिबार साँझ घर नजिकैको चोकमा तरकारीको भाउ सुन्दा अतालिएको बताइन् । उनी भन्छिन्, ‘मुला, स्कुसजस्ता तरकारीको भाउ पनि १ सय रुपैयाँ भन्छन् । कमाइ कम भएका वेला यस्तो महँगी भएपछि कति दिन धान्न सकिएला ?’

सरकारी निकायले भने तरकारी बजारमा अनुगमन तीव्र पारिएको र दोषी व्यवसायीलाई कारबाही गरिरहेको जनाएको छ। अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोक्तालाई असहज हुने गरी भएका व्यापारिक क्रियाकलापमा अनुगमन केन्द्रित गरिएको बताए । उनले आलु, प्याज लुकाउने, बढी मूल्य असुल्ने व्यवसायीलाई कारबाही थालिएको बताए ।